८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चुनावी प्रतिवद्धता सहित एमालेले ७३ औं पार्टी स्थापना दिवस मनायो



बाबुराम रायमाझी, जीतपुर ।

नेकपा एमाले वाणगंगाले नेपाल कम्युनिष्ट पार्टीको ७३ औं पार्टी स्थापना दिवस वाणगंगामा मनाएको छ । आसन्न वैशाख ३० को स्थानीय निर्वाचन केन्द्रित रहेर आफनो स्थापना दिवस मनाएको हो । नेकपा एमालेले ५ वर्षको अवधीमा स्थानीत तहमा गरेका उपलब्धी तथा कामहरुको सार्वजनिक गर्दै आउदो ५ वर्षका लागि चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । वाणगंगा नगरपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचन जितेपछि ५ वटा महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकता दिएर प्रतिवद्धता तयार गरेको थियो । पार्टीले स्थानीय तहमा निर्वाचन जितेपछि गरिब विपन्न तथा पछाडी पारिएको समुदायको खानेपानी, विजुली लगाएतमा छुट दिने प्रतिवद्धता जनाएको छ ।

नगरमा शुशासन तथा पारदर्शीता कायम गर्दै सेवाग्राहीलाई सहज सरल झन्झट मुक्त सेवा प्रवाह गर्ने बताएको छ । विगतका अधुरा योजनाहरु चक्रपथ, फाहोलमैला व्यवस्थापन, गौशाला, बसपार्क, पूर्वाधार विकासलाई प्राथमिकताका साथ पुरा गर्ने जनाएको छ । कार्यक्रममा महिला, युवा, दलित, जनजाति, अल्पसंख्यक समुदायको शसक्तिकरण, रोजगारी तथा सहयोगका लागि विशेष प्याकेज तयार गर्ने प्रतिवद्धता तयार गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सजिवालय सदस्य भेषराज पाण्डेले प्रस्तुत गर्नुभएको ६ पृष्ठ लामो प्रतिवद्धता पत्रमा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, संस्थागत क्षेत्रको प्रवर्धन र विकासमा जोड दिइएको छ । कार्यक्रममा प्रमुख अतिथी विमला घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको आंकाक्षा पुरा गर्न नेकपा एमालेलाई स्थानीय निर्वाचनमा वहुमतका साथ विजयी गराउन सवै नेता कार्यकर्तालाई घरदैलोमा जान आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य दोर्णराज सुवेदी, चक्रपाणी अर्याल, वाणगंगा नगर कमिटिका इन्चार्ज शंकर पाण्डे, नगर अध्यक्ष युवराज पोखरेल, जिल्ला कमिटि उपाध्यक्ष विश्राम थारु, जिल्ला कमिटि सचिवालय सदस्य विमल सारु मगर लगाएतको उपस्थिती रहेको थियो । नगर सचिव विष्णु गिरीको संचालन तथा उपाध्यक्ष मुक्त बहादुर कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेलमा प्रवेश गरेका १५ जना नयाँ सदस्यहरुलाई पोलिटव्युरो सदस्य विमला घिमिरेले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ६ : १३ बजे