दीपा महत, वाणगंगा ।
कपिलवस्तुको सदरमुकामस्थित कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेलले नेकपा (एमाले) परित्याग गरेका छन् । गएको चैत्र २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले बनेका पौडेल एक महिना नवित्दै जसपा नेपालमा प्रवेश गरेका हुन् ।
२८ बर्षसम्म हालका एमाले नेता तथा प्रतिनिधिसभा सदस्य वृजेश कुमार गुप्तालाई सुख, दुःखमा साथ दिदैं आएका पौडेल उनीसंगै एमाले बनेका थिए ।
०७४ सालमा संविधान प्रति विमति जनाउँदै स्थानीय तहको चुनाव बहिस्कार गरेको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) छाड्दै गुप्ता र पौडेलले कपिलवस्तु नगरपालिकामा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका थिए ।
गुप्ता समूहले स्थानीय तहको चुनावमा मेयर लगायत वडाध्यक्षसम्म स्वतन्त्र रुपमा उम्मेद्वार खडा गरेर निर्वाचन प्रक्रियामा सहभागी बनेको थियो । मेयरमा कांग्रेससंग पराजित भएपनि पौडेल लगायत केही वडामा गुप्ता समूहले चुनाव जितेको थियो ।
लगत्तै ०७४ सालको मंसीरमा सम्पन्न प्रदेश र संघको चुनावमा एमालेको सूर्य चिह्न लिएर गुप्ता चुनावमा होमिएका थिए । यहाँसम्म आइपुग्दा गुप्ताले राजपा छाडिसकेका थिए । एमालेको सूर्य चिह्न लिएर बामगठबन्धनका साझा उम्मेद्वार बनेका गुप्ता झण्डै ५ बर्षको अन्तरालमा गएको चैत्र २८ गते औपाचारिक रुपमा एमाले बनेका हुन् ।
एमालेमा आएसंगै गुप्ता समूहका सयौं कार्यकर्ता उनीसंगै एमाले प्रवेश गरेका थिए । यहीँ मध्येका एक थिए सुदिप पौडेल । तौलिहवाबासी माझ लोकप्रिय रहेका पौडेल आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनमा मेयर पदका आकांक्षी थिए । तर, गुप्ताले आफ्ना परिवार भित्रबाट मेयरमा उठाउन खाजेपछि पौडेल झस्किएका थिए । बेला बेला पौडेलका फेसबुक स्टाटस गम्भीर प्रकारमा आउने गरेका थिए ।
मनोवैज्ञानिक रुपमा गुप्तालाई मेयरमा टिकट दिन दबाब सिर्जना गर्दै आएका पौडेल अन्तिमसम्म गुप्ताको साथ नछाड्ने बताउँदै आएका थिए । यद्यपि यो बीचमा उनका कार्यकर्ताले एमालेबाट मेयरको टिकट पाइदैंन भन्दै पार्टी छाड्न दबाब बढाउदै आएका थिए ।
लामो समय मेयरको आशा गरि बसेका पौडेल अन्ततः टिकट आफुले नपाउने देखे पछि विहीबार जसपा नेपालमा प्रवेश गरेका हुन् । गुप्ता एमाले प्रवेश गर्दै गर्दा रोचक सम्झौता गरि प्रवेश गरेको राजनीति वृत्तमा चर्चा उठ्ने गरेको छ । गुप्ताले कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिकामा लगभग सबै, महाराजगञ्ज र बुद्धभूमिका कतिपय वडामा आफै टिकट बाड्न पाउने गरि एमालेमा आएको बताइन्छ ।
सोही अनुसार यी स्थानमा टिकट बाड्ने अधिकार गुप्ताको हातमा छ । तौलिहवामा लोकप्रियता हासिल गरेका पौडेललाई नै टिकट दिनुपर्ने एमालेबाट चर्को आवाज नउठेको भने होइन् । पौडेल मेयरमा उठ्दा जसरी विपक्षीलाई हराउन सजिलो हुन्छ, अर्को उठ्दा हुँदैन् भन्ने एमालेले बुझेकै थियो । तर, गुप्ताको हातमा टिकट बाड्ने अधिकार हुँदा एमाले नेता यस मामिलामा मौन बसे ।
एमाले भन्दा पनि झण्डै तीन दशकको बृजेश कुमार गुप्ताको साथ छाड्दै गर्दा पौडेल भक्कानिएका थिए । जसपा नेपालको यात्रा तय गर्दै गर्दा निकै भावुक मुद्रामा संक्षिप्त मन्तव्य राखेका पौडेलले आफुमाथि अन्याय गरिएको बताए ।
पार्टी प्रबेश कार्यक्रममा भावुक मुद्रामा गहभरि आसु झार्दै भने, ‘नेता बृजेश कुमार गुप्तासंगै २८ बर्ष काम गरे । अहिले छोड्दा निकै नरमाइलो लागि रहेको छ ।’ ‘मेरो त्यहाँ मुल्यांकन भएन र मलाई उचित स्थान दिइएन । त्यसैले म अब देखि जनता समाजवादी पार्टीमा लागे ।’ अब जनता समाजवादी पार्टी प्रति प्रतिबद्ध रहेको र तन मन र धनले पार्टीको विकासमा लाग्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
चुनावको मुखैमा पौडेलले साथ छाड्दै गर्दा गुप्तामाथि दबाब बढेको छ । कपिलवस्तु नगरपालिकाको मेयर आफुले जित्नेमा ढुक्क देखिएका गुप्ता पौडेलको जसपा प्रवेशबारे कुनै टिप्पणी दिएका छैनन् । यस विषयमा बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन् । यद्यपि गुप्ताको व्यक्तिगत प्रवाह त्यहाँ रहकाले मेयर लगायत अधिकांश वडा जित्नेमा उनी ढुक्क रहेको उनी निकटको स्रोत बताउँछ । जसपा नेपाल प्रवेश गरेका पौडेल कपिलवस्तु नगरपालिकामा मेयरमा उठ्नेछन् । जसपाको खासै प्रभाव नरहेको यस क्षेत्रमा पौडेलको आगमनले पार्टीका नेताहरु हैसिएका छन् ।
थप यो पनि…राप्रपा, तमलोपा हुँदै एमाले प्रवेश गरे बृजेशकुमार गुप्ता
प्रतिक्रिया