रुपन्देही ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल बन्दै गएको अहिलेको व्यवस्थाको विकल्पमा आफूहरूको उपस्थिति रहेको बताएका छन्।
३२ वर्षमा ३६ सरकार परिवर्तन भएको र दुई तिहाइ बहुमतका सरकार समेत ढल्ने गरेको भन्दै उनले यो सबै असफल व्यवस्थाको परिणाम भएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नारा दिएर विगत ३२ वर्षदेखि जनतालाई कैद गर्ने र बन्धक बनाएर राख्न खोज्नेहरूका विरूद्ध राप्रपाको उदय भएको बताए।
उनले जनतालाई आफ्नो गोठको गाईभैंसी सम्झेर कजाउनेहरूलाई जनताले निर्वाचनमा बदला लिने बेला आएको बताए।
‘जनतालाई आफ्नो गोठको गाईभैंसीजस्तै गरेर पालेकाहरूका बाकस खाली गरिदिनुपर्ने छ,’ उनले भने।
लिङ्देनले राजनीतिक दलहरूले राजनीति भ्रष्टिकरणमा पुर्याएको भन्दै देशबाट सधैंका लागि भ्रष्टाचार उन्मूलनका लागि एकपटक आफूलाई विश्वास गर्न आग्रह गरे।
भ्रष्टाचार गरेर कुम्ल्याएको अकुत सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने भन्दै उनले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताए।
‘राजेन्द्र लिङ्देन नेपाली राजनीतिमा वडा अध्यक्षबाट उठ्दै(उठ्दै यहाँसम्म आएको छ, अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरेको कसैले पुष्टि गर्छ भने म जीवनभर उसको नोकर बस्छु, तपाईंहरू पनि कोही पार्टीमा लागेर धन कमाउने मनसायले आउनु भएको छ भने आजैदेखि पार्टी छोडिदिनुस्,’ उनले भने।
उनले आफ्नो पार्टीले जित्ने स्थानीय तहमा भ्रष्टाचारको नामसमेत सुन्न नपाउने गरी काम गर्ने उल्लेख गर्दै उम्मेदवार बन्न चाहनेहरूले भ्रष्टाचार गर्दिनँ भनेर सार्वजनिक रूपमा कसम खान आग्रह गरे।
‘जो उम्मेदवार बन्दै हुनुहुन्छ, सार्वजनिक रूपमै कहिल्यै भ्रष्टाचार गर्ने छैन भनेर कसम खाएर मात्रै मनोनयन दर्ता गर्न जानुहोला,’ लिङ्देनले भने। गएका निर्वाचनमा सही दल र व्यक्तिलाई चुन्न नसक्दा नेपाली जनताले दुस्ख पाएको दाबी गर्दै उनले अब पनि आफ्नो भाग्यलाई दोष दिएर गलत पार्टी र व्यक्तिलाई जिताउने छुट नेपाली जनतालाई नभएको बताए।
‘मेरो बाउको पार्टी, आमाको पार्टी, मेरो पार्टी भनेर अहिलेका दलहरूलाई नै भोट दिएर पठाउने छुट इमान्दार जनतालाई छैन, उनले भने, ‘देशको अवस्था देख्दा कांग्रेस, एमाले र माओवादीका इमान्दार कार्यकर्तालाई पनि ऐंठन हुन्छ होला, अब ऐंठन भएर बस्ने होइन राप्रपाको अभियानमा जोडिनुस्, यो अभियान राप्रपाको मात्र होइन देश बचाउने अभियान हो।’
उनले मुलुक बनाउने मौका नेपाली जनतालाई फेरि मिलेको भन्दै यो मौका नगुमाउन आग्रह गरे।
‘कुनै लडाइँ नगरी, कसैलाई क्षति नपुर्याई देश सुधार्ने मौका आएको छ, यो मौकालाई प्रयोग गरौं। अहिले जतिपनि पहिलोचोटी मत दिने युवा मतदाता हुनुहुन्छ, पहिलो चोटीको तपाईको पवित्र भोट देश र धर्म जोगाउन प्रयोग गर्नुस्,’ उनको आग्रह थियो। अघिल्लो स्थानीय तहको निर्वाचनको बेला ८ खर्ब रहेको राष्ट्रिय ऋण अहिले १७ खर्ब पुगेको भन्दै उनले यस्तै अवस्था रहिरहने हो भने मुलुक श्रीलंका बन्नसक्ने खतरा औंल्याए। ‘राप्रपाले मुलुकलाई यस्तो अवस्थामा छोड्न सक्दैन, करको बोझ जनतालाई बोकाएर पनि देश किन ओरालो लागिरहेको छ, किन यति धेरै ऋण बढिरहेको छ। यसैगरी ऋण बढाइरहने हो भने नेपाल श्रीलंका बन्ने छ,’ लिङ्देनले भने।
उनले संघीयताको नाममा जनतालाई करको बोझ बोकाएर दलका नेता र कार्यकर्ताहरू सरकारी गाडीमा कुदिरहेको भन्दै देशप्रति सचेत नागरिकलाई अब पनि पर्खिने र एकपटक फेरि हेरौं भन्ने समय नभएको बताए।
‘एकपटक फेरि पर्खिऊँ र हेरौं भन्दै गर्दा देश नरहने खतरा आइसक्यो,’ उनले भने। लिङ्देनले राप्रपाले कुनै गठबन्धनमा सामेल नभइकन जनताको बीचमा जाने उल्लेख गर्दै राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रूपमा विकास गर्ने बताए।
सबै कुराहरूको जग शिक्षा भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै १२ कक्षासम्मको शिक्षा पूर्ण रूपले निस्शुल्क गर्ने, जात धर्मको आधारमा नभई वर्गको आधारमा गरिब विपन्न परिवारका छोराछोरीमध्ये हरेक पालिकामा एक एक जनालाई इञ्जिनियर र एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने आफूहरूका चुनावी एजेण्डा रहेको उनले बताए।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुबबहादुर प्रधानले ठूला भनिएका दलहरू फेरि राप्रपासँग प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको अहिलेको चुनावमा नेपाली जनताले राष्ट्रविरूद्ध लागेका दलहरूलाई सजाय दिने बताए।
पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले नेपाली जनताले ५ वर्ष सरकार चलाउन पठाएको दलले संसद विघटन गर्ने र प्रतिपक्षमा बस्न पठाएको दलले सरकार चलाउने गरेको भन्दै जनताको मतविपरीत काम गर्दै आएका दलहरूलाई मत माग्ने अधिकार समेत नभएको दाबी गरे।
उनले अहिले राष्ट्र बैंकमा हुनुपर्ने ३ खर्ब रुपैयाँ दलका नेताहरूले लुकाएको राखेको आरोप लगाउँदै आफूहरू सरकारमा आएको भोलिपल्ट लुकाएको रकम सबै बैंकमा बुझाउने अवस्था ल्याइदिने दाबी गरे।
‘अहिले बैंकमा हुनुपर्ने पैसा दलका नेताहरूका घर(घरमा छन्, हामी सरकारमा गएको भोलिपल्ट एक हजारका नोट खारेज गरिदिन्छौं, त्यसो गर्दा सबै लुकाएको पैसा बैंकमा आउने छन्,’ थापाले भने।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतले एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट दिएर देश परिवर्तनको अभियानमा सघाउन आग्रह गरेका थिए।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकाहरूलाई पार्टीका नेताहरूले टीका लगाइदिएर स्वागत गरेका थिए।
प्रतिक्रिया