८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सधै पछाडी पारिएका कृष्ण, यसपालि वाणगंगाको मेयरमा मुख्य दावेदार



दीपा महत, वाणगंगा ।
एमाले कपिलवस्तुका पुराना नेता हुन् कृष्ण प्रसाद पौडेल । विं.स. २०३० साल देखि राजनीतिमा लागेका पौडेल एमाले भित्रका बौद्धिक नेतामा पर्छन् । पढाईमा तेज रहेका पौडेल राजनीतिमा लागेकै कारण थुप्रै अवसर गुमाएका छन् ।

निरंकुश पञ्चायती व्यवस्था हटाउन उनले व्यक्तिगत ढंगबाट थुप्रै भूमिका खेलका छन् भने, एमाले कपिलवस्तुलाई यहाँसम्म ल्याउन उत्तिकै योगदान गरेका छन् ।

नेपालगञ्जमा बीए अध्ययनको क्रममा तत्कालिन अञ्चलाधिस कार्यालय घेराउमा उनले सक्रिय भूमिका खेले । काठमाडौंमा एमए अध्ययन गर्ने क्रममा भएको स्ववियू निर्वाचनमा पनि उनको योगदान भूल्न नसकिने रह्यो ।

विं.स. २०३६ सालमा कपिलवस्तु आएका पौडेलले बहुदलीय व्यवस्थाका लागि भएको जनमत संग्रहमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विं.स. २०४६ सालको जनआन्दोलनमा पार्टीेद्धारा सञ्चालित ५ सदस्यिय जिल्ला कार्यसमितिको सदस्य बनेका पौडेल दुई कार्यकाल वडा अध्यक्ष भएर जनताको सेवा गरेका थिए ।

०५२ मा भएको एमालेको अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका पौडेल हाल एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य छन् । यो भन्दा अगाडी पौडेल एमालेबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य भएर पनि काम गरेका थिए ।

वाणगंगा ८ मधुवन निवासी पौडेलले सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । १५ बर्षसम्म सिद्धार्थ क्याम्पसको क्याम्पस सञ्चालन समिति अध्यक्ष भएर काम गरेका उनी एक पटक लुम्बिनी विकास कोषको सदस्य, शारदा अधिकारीको अध्यक्षतामा गठित सुकुम्बासी आयोगको कपिलवस्तु अध्यक्ष हुँदै पछिल्लो समय देवी ज्ञवालीको अध्यक्षतामा गठित राष्ट्रिय भूमि आयोगको कपिलवस्तु अध्यक्ष भएर काम गरे ।

आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावमा पौडेलले वाणगंगाको मेयर पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । गएको स्थानीय तहको चुनावमा पनि मेयरमा दाबी गरेका उनले टिकट पाएनन् । मेयरको बलियो सम्भावना रहदा रहँदै उनलाई पार्टीले टिकट दिएन् । एमाले कपिलवस्तुको नेतृत्व सम्हाल्ने गरि उनलाई त्यो बेला पार्टी नेतृत्वले आश्वासन दिएको स्रोत बताउँछ ।

०७४ साल मंसीरमा भएको संघ र प्रदेशको चुनावमा पनि उनले प्रदेश सभा सदस्यका लागि इच्छा राखेका थिए । उनको नाम काठमाडौंसम्म पुगे पनि अन्ततः उनले टिकट पाएनन् । जिल्ला भित्र सिनियर नेताको भूमिकामा रहेका पौडेल अनुशासित छन् । सालिनता उनको महत्वपूर्ण गहना हो । गुटगत प्रवृत्तिलाई उनले खासै रुचाउँदैनन् । कम्युनिष्ट आचारणले भरिपूर्ण पौडेलले यो पालि वाणगंगाको मेयरमा टिकट पाउनेमा ढुक्क छन् । विगत देखिकै दाबी रहकाले पार्टी नेतृत्वले आफ्नो क्षमता र योग्यतालाई ख्याल गर्नेमा उनी आशावादी छन् । एमाले स्थापनाकाल कै नेता भएपनि उनले कपिलवस्तुको पार्टी नेतृत्व पाउन सकेका छैनन् । चुनाव आउँदा पार्टीको नेतृत्व दिने, पार्टीको अधिवेशन आउँदा चुनावमा उठाउने जस्ता आश्वासन पौडेलले पाउने गरेका छन् । तर, उनलाई दुवैबाट टाढा पार्ने कोशिस भइरहेको उनी समर्थक कार्यकर्ता बताउँछन् ।

आसन्न बैशाख ३० को निर्वाचनमा वाणगंगाबाट एमालेका पूर्व अध्यक्ष झविलाल पोख्रेल, हालका उप–मेयर चक्र अर्याल, जन्जिर प्रसाद थारु, महिला नेतृ सूर्यकुमारी शाही लगायतको नाम नगरबाट जिल्लामा सिफारिस भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९ मंगलबार ००:००  १० : ०३ बजे