८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अर्घाखाँचीमा अझै भएन् ५ दलीय गठबन्धनबीच पालिका बाँडफाँटमा



अर्घाखाँची ।
केन्द्रीयस्तरबाट सत्ता पक्षीय पाँच दलहरूबीच गठबन्धन भए पनि अर्घाखाँचीमा पाँच दलले अझै पालिका बाँडफाँटमा टुंगो लगाउन सकेका छैनन् । तीन दिनदेखि विभिन्न चरणमा बसेका बैठकहरु बिनानिष्कर्ष टुंगिएका छन् ।

०७४ को स्थानीय तहमा भएको तालमेल अनुसार नै गठबन्धन गर्न कांग्रेसले खोजेको छ । त्यसबेला पाणिनि र छत्रदेव गाउँपालिकामा कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेको थियो । शितगंगा, भुमिकास्थान र शितगंगा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । मालारानी गाउँपालिकामा भने एमालेले जितेको थियो ।

साना दलले भने ६ वटै पालिका र ६१ वडामा भागवण्डा गरिनुपर्ने अडान राखेका छन् । विभिन्न चरणमा छलफल भइरहेको र अन्तिम चरणमा सबैलाई मिलाएर सहमतिको टुंगो लगाउन गृहकार्य भइरहेको खनालले बताए । ‘हाम्रो मतलाई सम्मान गर्नुपर्छ,’ राजमो जिल्ला अध्यक्ष थम्मन केसीले भने, ‘सबैको अस्तित्व सम्मान गर्ने गरी पालिकामा सहमति हुन्छ ।’

साना दलले धेरै पदको माग गरेपछि गठबन्धनको ठूलो दल कांग्रेसलाई मिलाउन सकस परेको छ । ५ दलका शीर्ष नेताहरुले आ–आफ्नो अडान कायम राखेपछि सहमति जुटेको छैन । ‘छलफल भइरहेको छ, कुन दललाई कहाँ पद दिने भन्दा पनि प्रतिगामी एमालेलाई मिलेरै पररास्त गर्नु मुख्य कुरा हो,’ नेकपा एसका जिल्ला अध्यक्ष रामबहादुर चौहानले भने, ‘विभिन्न चरणमा छलफल भइरहेको छ । अन्तिम चरणमा सहमतिमै पद बाँडफाँट गरेर टुंगाउँछौं ।’

नेकपा विभाजन भएपछि एमालेतिर लागेका केन्द्रीय नेता टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्कासहित जिल्ला स्तरका नेताहरु माओवादी छाड्ने क्रम बढ्दो भएकाले ५ दलीय गठबन्धनसँग एक्लै भिड्न तयार रहेको एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए । रायमाझीसहित माओवादीको ठूलो हिस्सा प्रवेश गरेकाले पहिले भन्दा अहिले एमाले थप बलियो बन्दै गएको उनको तर्क छ ।

रायमाझीसहित अहिलेसम्म ६० प्रतिशत माओवादी एमालेमा भित्रिएको तथा अन्य पार्टीबाट पनि प्रवेश गरेकाले र एमाले संगठित संगठन, एमाले सरकारले गरेका विकासका कामले नै गठबन्धनलाई जित्ने आधार रहेको भुसालले बताए ।

छ स्थानीय तहमध्ये तीन पालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । जस अनुसार भुमिकास्थान नगरपालिका प्रमुख हालमा मेयर रेशम थापा, उपप्रमुख वसन्ता पौडेल र शितगंगा नगर प्रमुखमा वसन्त श्रेष्ठ, उपप्रमुख गीता भाटलाई उम्मेदवार चयन गरेको छ । पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपानेलाई एमालेले अघि सारेको छ । आकांक्षी धेरै भएकाले अन्य पालिका पदमा उम्मेदवार टुंगाउने छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९ आइतबार ००:००  ८ : ०९ बजे