कपिलवस्तु ।
भारतसँग सीमा जोडिएको कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् ।
प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।
जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संवेदनशील सुचीमा राखेको हो । मिश्राले निर्वाचन स्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए ।
समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको छ ।
जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन् । समितिले ६२ लाई संवेदनशील र १ सय ५३ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।
मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त गरिने छ ।
उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मरीहरुको सुचीसमेत तयार भैसकेको छ । सो कर्मचारीहरूको सुची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइएको छ ।
यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरूले भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उनले बताए ।
निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । कपिलवस्तुमा २१ साना र ६ ठुला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन् ।
प्रतिक्रिया