काठमाण्डौ ।
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ ।
आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदो चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलको गठबन्धन बन्छ कि १ दुई वटा गठबन्धनको बीचमा नेपाली जनमत विभाजित हुने स्थिति छ ।’
सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आउँदा दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताउनुभयो ।
यस्तै नेता खनालले गैरआवासीय नेपाली र नेपाली जनताको बीचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आउँदा दिनमा पनि त्यो सम्बन्धलाई गहिरो, आत्मीय र घनिष्ठ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया