काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल दोबाटोमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित भएका छन् । बा ४ ख ६९६२ नम्बरको टिपरको ठक्करबाट बुधवार बिहान ९ वर्षीया श्रेया तामाङ र ४ वर्षीया सृष्टिको मृत्यु भएको थियो ।
दुर्घटनापछि आक्रोशित स्थानीयले दुईवटा टिपर, जेसिबी र त्यहाँ सञ्चालित बालुवा वासिङ्गको टहरामा आगजनी गरेका छन् । करिब ७ सयभन्दा धेरै स्थानीय प्रदर्शनमा उत्रिएपछि काठमाडौंका एसएसपी सुदिप गिरी घटनास्थलमा पुगेका छन् । सुन्दरीजलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
वार्ताको प्रयास भइरहेको र स्थिति शान्तिपूर्ण हुँदै गएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए । राठौरले भने– ‘टिपर चालक महानगरीय प्रहरी वृत बौद्धको नियन्त्रणमा छन् ।’ नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भएका ४३ वर्षीय राजेन्द्र नगरकोटीले चलाएको टिपरले बा। ५१ प ८७२२ नम्बरको रोहन तामाङले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार रोहनका दुई छोरीको घटनास्थलमा नै मृत्यु भयो ।
बालिकाहरू स्थानीय वर्ल्ड युथ इन्टरनेशनल स्कुलमा अध्ययनरत थिए । विहान ८ बजे रोहनले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा दुर्घटना भएको थियो । टिपरको ठक्करबाट रोहन घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । सहमति नहुँदासम्म स्थानीयले घटनास्थल मुचुल्का गर्न र टिपरलाई घटनास्थलबाट हटाउन नदिने अडान लिएका छन् ।
प्रतिक्रिया