बर्दिया ।
एक साता नबित्दै बर्दियाको सामुदायिक वनमा शनिबार वयस्क पाटेबाघ मृत फेला परेको छ । मधुवन नगरपालिका—६ स्थित जनजागृति र ग्रामीण महिला सामुदायिक वनको सीमानाको खोल्सामा बाघ मारिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
वन कार्यालयका सूचना अधिकारी द्रोण शर्माले प्रारम्भिक अनुसन्धानमा आपसमा बाघ जुधेर मरेको बताए । बाघको मुख, पेट र आन्द्रामा पञ्जाले हिर्काएकोले जुधेर मरेको अनुमान गरिएको उनले जनाए ।
मधुवन हुँदै बारबर्दिया जाने लठुवाघाट नजिक बाघ मारिएको छ । घटनास्थलमा वनका अधिकारी पुगेका छन् । बाघको मृत शरीर परीक्षण र अनुसन्धान गर्न बर्दिया निकुञ्जबाट चिकित्सकको टोलीसहित घटनास्थल खटिएको वन कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकामदेखि करिब २० किमि पश्चिम उत्तरमा पर्दछ ।
करिब एक साताअघि मधुवन नगरपालिका—२ स्थित जनजागृति सामूदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको थियो । उक्त बाघ पनि आपसमा जुधेर मरेको अनुमान वनका कर्मचारीको छ ।
प्रतिक्रिया