काठमाण्डौ ।
हावाहुरी र सुक्खा मौसम सुरु भएपछि आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । हरेक दिन आगलागी र १०र१२ ठाउँमा डढेलोका घटना भइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
हिजो एकैदिन रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । रामेछापमा २२ वटा घरगोठ, सर्लाहीमा १४ घर र दोलखामा दुई घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–८ सल्लेरीको तीनदोबान भिरपाखा, सिन्धुलीको सिन्धुलीमाडी सामुदायिक वनमा डढेलो लागेको छ । यसवर्ष ७७ वटा जङ्गलमा डढेलो लागेको छ । घर तथा जङ्गलमा भएको आगलागीबाट यसवर्ष मात्रै ८८ जनाले ज्यान गुमाएका छन् भने तीन सय ६८ जना घाइते भएका छन् । यी घटनामा २६ सय ६७ परिवार प्रभावित भएका प्राधिकरणको तथ्याङ्क छ । झन्डै साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ ।
अघिल्लो वर्ष चैत लागेसँगै नेपालका सयौँ ठाउँमा एकै पटक डढेलो लागेको थियो । एकैदिन पाँच सयभन्दा धेरै ठाउँमा डढेलोका घटना भएका थिए । डढेलोकै कारण फैलिएको प्रदूषणले पोहोर यो बेला चार दिन विद्यालय समेत बन्द गरिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कम डढेलो लागेको भए पनि जोखिम कायमै रहेकोले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।
डढेलोको प्रकोपका हिसाबले गएको वर्ष दशकौँयताकै सबैभन्दा खराब वर्ष मानिन्छ । आगलागी तथा डढेलो लाग्न नदिन व्यक्ति र समुदाय नै सचेत हुनुपर्नेमा उहाँको जोड छ । आगोको सानो झिल्कोले ठूलो क्षति पुर्याउने भएकाले लापरबाही नगर्न, घाँसको लोभमा जङ्गलमा जानीजानी डढेलो नलगाउन पनि उहाँको सुझाव छ ।
प्रतिक्रिया