८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हिलवर्टको आइएसए अवार्ड सेरोमनीः एउटै मञ्चमा हजार विद्यार्थीले देखाए प्रतिभा



मायादेवी अनलाइन, चारनम्बर । नेपाल सरकार अन्तर्गत शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेश्नल स्कुल अवार्ड (आइएसए) प्राप्त गरेको कपिलवस्तुको हिलवर्ट बोर्डिङ स्कुलको सबैले प्रसंसा गरेका छन् । विहिबार भएको आइएसए अवार्ड सेरोमनीमा बोल्ने वक्ताहरुले विद्यालयको प्रसंसा गरेका हुन् ।

प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले विद्यालयले हासिल गरेको उपलब्धिले कपिलवस्तुको शैक्षिक गुणस्तर राम्रो छ भन्ने कुरा प्रमाणित गरेको बताउनु भयो । पछिल्लो समय बाणगंगा नगरपालिका गुणस्तरीय शिक्षाको लागि जिल्लाकै हब बन्दै गएको पन्थीले बताउनु भयो । उहाँले भन्नुभयो ‘हिलवर्टजस्ता स्कुल रहेका कारण बाणगंगाको शिक्षामा आमुल परिवर्तन आएको छ । बुटवलभन्दा राम्रो शिक्षा यहीँ छ । अब राम्रो शिक्षाको लागि बुटवल जानु पर्ने स्थिति छैन ।’

स्थापना कालदेखि नै हिलवर्टसंग आफू नजिक रहेको बताउँदै उहाँले आगामी दिनमा अझै शशक्त भएर अगाडी बढ्न सुझाउनु भयो ।
विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले पनि विद्यालयको गुणगान गाउनु भयो । विद्यालय जिल्लामा उत्कृष्ट भइरहेको अवस्थामा प्राप्त गरेको अन्र्तराष्ट्रिय उपाधिले नगरकै गौरव बढेको उहाँले बताउनु भयो ।

प्याब्सनका जिल्ला अध्यक्ष सुन्दर पाण्डेले गुणस्तरीय शिक्षा दिने सवालमा कपिलवस्तुका नीजि विद्यालय अहिले धेरै राम्रो भएको बताउनु भयो । हिलवर्टसंगै जिल्लामा आइएसए पाउने विद्यालयको संख्या चार पुगेको भन्दै आगामी दिनमा थुप्रै विद्यालयले यो अवार्ड पाउने दाबी गर्नुभयो । शिक्षणसिकाई र अतिरिक्त क्रियाकलापसंगै हिलवर्ट अन्य हिसावमा पनि जिल्लामा अघि रहेको उहाँको ठम्याइए थियो ।

विद्यालयका अध्यक्ष दीपक खनाल, सहायक प्रिन्सिपल कुशल पाण्डे र आइएसए कोर्डिनेटर चन्द्र अधिकारीले अवार्डले विद्यालयलाई अवसर र चुनौति दुवै दिएको बताउनु भयो । विद्यालयको ध्यान केवल पढ्नु र पढाउनु मात्र नरेहेको भन्दै विद्यार्थीको चौतर्फी विकास गरी समाज र राष्ट्र निर्माणमा टेवा दिनु आफूहरुको उदेश्य रहेको उहाँहरुको भनाई छ ।

अभिभावकको तर्फबाट बोल्दै पत्रकार चन्द्रकान्त न्यौँपानेले हिलवर्ट स्कुलले दिएको शिक्षाबाट आफूहरु सन्तुष्ट रहेको बताउनु भयो । अभिभावकले विद्यालय हाताभित्र नानीबाबु छोड्दैमा दायित्व पुरा नहुने भन्दै घरमा समय दिन न्यौपानेको आग्रह छ ।

उहाँले मोबाइल, सुचना प्रविधिले विश्वलाई साँघुरो बनाए पनि घरभित्रका मनहरुलाई भने टाढा बनाएको भन्दै नानीबाबुले केके चलाउँछन् निगरानी गर्नु पर्नेमा न्यौपानेले ध्यानाकर्षण गराउनु भयो । परिवारका सदस्यमा मोबाइल लक कोड सबैलाई थाहा भए मात्र पनि परिवार नबिग्रने उहाँले दाबी गर्नुभयो ।

विद्यार्थीहरु आकृति आचार्य र अनिस घिमिरले आइएसए जोर्नीमा गरेका र सिकेका कुराहरुको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रमकै अवसरमा आइएसए अवार्ड हासिल गराउन मिहिनेत गर्ने प्रोजेक्ट कोर्डिनेटर, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गरिएको थियो भने २०७६ सालको परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक तेजप्रसाद आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा बाणगंगा नगरका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी, शाखा अधिकृत केशवराज भट्टराई, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमानाथ पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, शिक्षक अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, संचालक समिति सदस्यहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका १ हजार विद्यार्थीले बिभिन्न कला, संस्कृति झल्कने खालका सन्देश मुलक गीत, नृत्य र अभिनय प्रस्तुत गरेका थिए । विद्यार्थीका यी प्रतिभाबाट कार्यक्रममा सहभागि दङ्ग परेका थिए । सोही अवसरमै विद्यालयका अध्यक्ष दीपक खनालको जन्म दिन पनि केक काटेर मनाइएको प्रबन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८ शुक्रबार ००:००  १ : ४८ बजे