८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना संक्रमण दरमा कमी आएपनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ ।

सरकारले कोरोना संक्रमणको गति दरमा कमी आएपनि जोखिम कायमै रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले संक्रमण घट्दै गएकाले स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई थप सहज बनाउँदै लैजानुपर्ने बताए।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको उनले बताए । सरकारले आइतबार मात्र काठमाडौँ उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरूमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरू सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

सहप्रवक्ता डा। अधिकारीले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको जानकारी गराए । जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : २४ माघ २०७८ सोमबार ००:००  ४ : ०७ बजे