मायादेवी अनलाइन, वाणगंगा ।
आइतबार अपराह्न पख वाणगंगा नदी किनारामा रहेको फोहोरको डम्पिङ साइटमा लगाइएको आगोले वातावरण प्रदुषित बनाएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेवैमा रहेको डम्पिङ साइटमा आइतबार लागेको आगोको राँको ठूलै थियो ।
केही दिन यता लगातारजसो परेको पानीले डम्पिङ साइटबाट दुर्गन्ध फैलिएको बेला आइतबार आगो लगाइएको हो ।
वाणगंगा पौराणिक नदी हो । यसको तलपट्टी लक्ष्मणघाट र रामघाट छ । जहाँ तिर्थालुले नुहाईधुवाई गर्छन् ।
वाणगंगा नगरपालिका भए देखि नदी किनारामा फालिदै आएको फोहोरले नजिकैका बजार दुर्गन्धित हुने गरेका छन् भने महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम यात्रा गर्ने यात्रुहरुलाई वाणगंगा नदीको पुलनिर आएपछि डुंग गन्हाउने गर्छ ।
०७४ सालको चुनावमा वाणगंगामा व्यवस्थित डम्पिङ साइट बनाउने गरी चुनावी घोषणापत्र जारी गरेका दलहरुको उदासिनताका कारण डम्पिङ साइट व्यवस्थित हुन नसकेको हो ।
हालै मात्र वाणगंगाले वडा नं. ९ को भलवाडमा व्यवस्थित डम्पिङ साइट बनाउने गरी गूहकार्य अगाडी बढाएको छ । यद्यपि यसको काम सुस्तगतिमा भएको देखिन्छ ।
यता नगरका जनप्रतिनिधिहरुले नगरमा व्यवस्थित डम्पिङ साइट निर्माणको तयारी भैरहेको बताउँछन् । नगर प्रमुख मंगलप्रसाद थारुले विभिन्न प्रयासका बीच भलवाडमा डम्पिङ साइट बनाउन लागेको बताउनुभयो ।
यता वाणगंगाबाट निस्केको फोहरले वाणगंगा नदी प्रदूषित बन्दै जाँदा त्यसको प्रभाव जलचरमा परेको छ । फोहरले गर्दा जलचर तथा त्यस्तो पानी पिउँदा जंगली जनावरहरूसमेत लोप हुने अवस्थामा छन् । फोहरका थुप्राले एकातिर वातावरणलाई प्रदूषित गरेको छ भने नदी प्रदूषित हुँदा त्यसको असर पर्यटनमा समेत परेको छ ।
कानुनअनुसार प्लास्टिकयुक्त फोहोर डढाउन निषेधित छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा विद्युतीय तथा सूचना–प्रविधिका लागि प्रयोग भएका सामग्रीलगायत पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुलाई फोहोरका रूपमा परिभाषित गरिएको छ ।
ऐनको दफा ४ को उपदफा (२) मा हानिकारक, स्वास्थ्य संस्थाबाट निष्कासित, रासायनिक वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व उत्पादकको हुने व्यवस्था छ । दफा ७ को उपदफा (३) मा हानिकारक र रासायनिक फोहोरमैला संकलन केन्द्र वा स्थानान्तरण केन्द्रमा निष्कासन गर्न नपाइने उल्लेख छ ।
यता फोहोर जलाउनु डाइअक्सिन र फ्युरान्स जस्ता खतरनाक कार्सिनोजेन्सको महत्त्वपूर्ण स्रोत हो । कालो कार्बन, अल्पकालीन जलवायु प्रदूषक जसले जलवायु परिवर्तनमा योगदान पु-याउँछ । हिउँ र बरफमा कालो र कालो कार्बन जम्मा भएका कारण ध्रुवीय क्षेत्रहरूमा पग्लिने वृद्धि र धेरै मानव स्वास्थ्य समस्याहरू देखिने गरेका छन् ।
प्रतिक्रिया