एजेन्सी ।
वेस्टइन्डिजमा सम्पन्न भएको यु-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गर्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको छ। शनिबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बनेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विश्व च्याम्पियन बन्यो।
खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा नटआउट रहे। त्यस्तै‚ जर्ज थोमसले २७ रन बनाउँदा एलेक्स होर्टन र रेहन अहमेदले समान १०-१० रन बनाएका थिए। एक समय ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौं विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानित स्कोरमा पुर्याएका थिए। भारतका लागि राज बवाले ५ विकेट लिँदा रभी कुमारले ४ विकेट हात पारे। थप एक विकेट कुशल ताम्बेको नाममा रह्यो।
सामान्य लक्ष्य पछ्याएको भारतले कमजोर सुरुवातका बाबजुत सहज रुपमा लक्ष्य पूरा गर्यो। उसका लागि शेक रसिदले ५० रनको अर्धशतकीय इनिङ खेल्दा निशान्त शिन्धु ५० रनमा नटआउट रहे। त्यस्तै‚ राज बवाले ३५ रन बननाउँदा हर्नुर सिंहले २१ रनको स्कोर बनाएका थिए। दिनेश बाना १३ रनमा अविजित रहे। भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।
आठौं पटक फाइनल पुगेको भारतले २०१८ पछि उपाधि जित्न सफल भएको हो। यु-१९ विश्वकपमा भारत सर्वाधिक धेरै फाइनलमा पुगेको भारतले २०००, २००८, २०१२, २०१८ र २०२२ मा गरी पाँच पटक उपाधि जित्न सफल भएको छ। भारत २०००, २००६, २००८, २०१२, २०१८, २०२० र २०२२ गरी ८ पटक फाइनलमा स्थान बनाएको छ।
प्रतिक्रिया