८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बेहुला–बेहुलीसहित जन्ती जिप दुर्घटना (अपडेट) मृतकको संख्या ७ पुग्यो



दाङ ।

प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन् ।

मृतक कसैको पनि पहिचान नखुलेको उनले जानकारी दिए। भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहेको छ । सोही गाडीमा सवार बेहुलीको अवस्थाबारे जानकारी नआएको प्रजिअ भुसालले बताए ।

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ । घाइते सबैको प्यूठान जिल्ला अस्पतामा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २२ माघ २०७८ शनिबार ००:००  ७ : ५३ बजे