काठमाण्डौ ।
वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
पुरुषहरुले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ, किचेन हेल्पर, स्टील फिक्सिङ, पाइप फिटर, ब्लास्ट पेन्टिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । यस्तै महिलाको लागि गार्मेन्ट मेसिन अपरेटर र हाउस किपिङको तालिम दिइन लागिएको हो । पुरुषहरुको लागि तालिम काठमाण्डौ, झापा, बुटवल र पोखराबाट सञ्चालन गरिने सामीले जनाएको छ । यस्तै महिलाको लागि तोकिएको हाउस किपिङको तालिम पोखरा तथा गार्मेन्ट मेसिन अपरेटरको तालिम काठमाण्डौमा सञ्चालन हुने छ ।
तालिम लिनको लागि पासपोर्ट र नागरिकता पेस गर्नुपर्छ । उमेर पुरुषको हकमा १९ पुगेर ३५ वर्ष नकटेको र महिलाको हकमा उमेरहद १९ देखि ३७ वर्ष रहेको छ । यस्तै शैक्षिक योग्यता तालिम अनुसार सामान्यदेखि दश कक्षा उत्तीर्ण तोकेको छ । तालिमको लागि चाहिने सेफ्टी सु र मेडिकल जाँचको खर्च आफैले बेहोर्नुपर्ने हुन्छ ।
सामीले विभिन्न समयमा सीपमूलक तालिम दिँदै आएको छ । यस चरणको तालिमअन्तर्गत केही तालिम माघ २० गतेदेखि सुरु भइसकेका छन् भने केही सुरु हुने क्रममा छन् । तालिममा भर्ना हुन चाहनेले ९८४०२४८०३४ मा सम्पर्क गरेर आफ्ना सिट सुरक्षित गर्न सामीले आग्रह गरेको छ ।
प्रतिक्रिया