८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी प्रदेश : राजधानीको खाका अन्तिम चरणमा



रुपन्देही ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा स्थापित गराउनका लागि निर्माण कार्य जारी रहेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ । राप्ती नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गरी गुरुयोजना परिकल्पना गरिएको छ । सडकसँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट गुरुयोजनामा प्रस्तावित छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर निर्माण गर्न थालिएको गुरुयोजनाले प्रारम्भिक रूपमा राप्ती गाउँपालिका अन्तर्गत ३ वटा वडा, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका २(२वटा वडालाई समावेश गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताएका छन् ।

प्रदेशको नाम लुम्बिनी भएकाले बुद्धको प्रतिमा आकारमा प्रदेशको गुरुयोजनाको खाका तयार पार्ने काम भइरहेको कार्यकारी अधिकृत घिमिरेले जनाए ।

उक्त खाकाबारे सरोकारवाला र प्रदेश सरकारसँग विस्तृत छलफल गरिसकिएको र अब काठमाडौंस्थित विज्ञहरूसँग छलफल गरी अन्तिम रूप दिइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेको भनाई छ ।

गुरुयोजनाको खाकामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भालुबाङ(लमही खण्डको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू र भीआईपीको आवास रहने गरी गुरुयोजना बनेको बताइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ राप्ती गाउँपालिकाको वडा नम्बर २ मा प्रस्ताव गरिएको छ । भालुबाङको पुलबाट दक्षिणतर्फ राप्ती नदीका दुवै किनारमा तटबन्ध गरी दुवैतर्फ ६० ६० मिटर चौडा सडक बनाइने उल्लेख छ ।

यस्तै गढवा गाउँपालिकाको क्षेत्रलाई आवासीय, कृषि र केही संस्थागत क्षेत्र पनि गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गढवाको कालाकाटे र शितगंगा नगरपालिकाका क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा छ ।

साथै राप्ती नदीमा आधुनिक र कलात्मक पुल ९सिग्नेचर ब्रिज० बनाउने र उक्त पुलले गढवा गाउँपालिकालाई जोड्ने गरी गुरुयोजनामा समावेश गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

भालुबाङदेखि सिसहनियाँ हुँदै ३ किलोमिटर दक्षिणसम्म स्थायी राजधानीका पूर्वाधार बन्ने जनाइएको छ । तर पहिलो चरणमा सिसहनिया सम्म मात्रै पूर्वाधार बन्ने प्राधिकरणले जनाएको छ।

गुरुयोजनामा राप्ती गाउँपालिकाको सिसहनिया क्षेत्रलाई पहिलो र पाखापानीदेखि मौरीघाटसम्मको क्षेत्रलाई दोस्रो व्यापारिक केन्द्र बनाइने र सिसहनियाँदेखि पहरुवा सम्मलाई सांस्कृतिक क्षेत्र र राजधानी शहरको बाहिरी घेरामा रिङ रोड रहने भएको छ ।

गत पुस २३ गते राप्ती उपत्यकाका जनप्रतिनिधि, स्थानीयवासी र अन्य सरोकारवालासँग विस्तृत छलफल गरिएको पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : २० माघ २०७८ बिहिबार ००:००  १ : ०४ बजे