८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सदरमुकाम तौलिहवामा छैनन् व्यवस्थित सार्वजनिक शौचालय



अंशु ढकाल, तौलिहवा ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा सार्वजनिक शौचालय नहुँदा आम नागरिक तथा यात्रुहरुलाई सास्ती भएको छ । देश कै एक पुरानो नगरपालिकामा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले दैनिक रूपमा समस्या भोगी रहनु परेको छ ।

भएका सार्वजनिक शौचालय पनि सरसफाइ र उचित मर्मत सम्भारको अभावमा प्रयोग विहीन वनेका छन्। कामका लागि आउने सदरमुकामको मुख्य ठाउँमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई दिसा–पिसाब च्यापेर हिँड्नुपर्ने बाध्यता छ।

‘भएका शौचालय पनि दुर्गन्धित र अव्यवस्थित छन्, तौलिहवाकी सरिता श्रेष्ठले भन्नु भयो,’ ‘ती शौचालय अपांगमैत्री र महिला मैत्री पनि छैनन्।’ भएका शौचालयहरूको स्तरोन्नति हुन नसक्दा र नयाँ शौचालय नबन्दा यात्रु र पर्यटक बढी मारमा छन्।

सार्वजनिक शौचालय सदरमुकाममा कामको शिलशिलामा आउने आम नागरिकले सहज रुपमा देख्ने र प्रयोग गर्ने ठाउमा हुनु पर्ने कपिलवस्तु नगरपालिका वडा नं। ६ की संगिता भुसालले बताउनु भयो। दिसा–पिसाब रोकेर हिड्नु पर्ने अवस्था आएका कारण सम्बन्धित निकायले ध्यान दिन उहाँले आग्रह गर्नु भयो।

तौलिहवाको बसपार्क, नयाँ हाट बजार, कपिलवस्तु नगरपालिका र बालमन्दिरको किनारमा गरी ४ ठाउमा सार्बजनिक शौचालय रहेका छन्। तर ति मध्ये कपिलवस्तु नगरपालिकाको लगानीमा बनेको पालिकाकै किनारमा र कपिलवस्तु नगरपालिका, युनिसेफ र लुमन्तीको सहयोगमा बनेको बालमन्दिरको पश्चिम किनारको शौचालय फोहोरका कारण प्रयोग विहिन अवस्थामा रहेका छन्।

अन्य दुई स्थानका शौचालयको अवस्था पनि उस्तै छ। बसपार्कमा रहेको शौचालयमा उचित सरसफाई नहुदाँ महिला र पुरुषले एक शौचालय प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। नयाँ हाट बजारमा रहेको शौचालयको अवस्था भने अन्यको तुलानामा केहि कम भए पनि दुर्गन्धित नै रहेको थियो।

जिल्ला सदरमुकाम जस्तो ठाउँमा सार्वजनिक शौचालय व्यवस्थित नहुनुले सदरमुकाम कै चेतना स्तरको बारेमा बताउने नागरिकको भनाई छ। शौचालय नभेटेर या भेटेका पनि दुर्गन्धित ठाउँमा जान नचाहेर दिसा–पिसाब रोकेर हिँड्ने गरेको सर्वसाधारण सुनाएका छन्। भएका सार्वजनिक शौचालय प्रयोग विहीन अवस्थामा रहँदा पनि सरोकारवाला निकाय भने मौन देखिएका छन्।

अब नगरपालिकाले विशेष ध्यान दिएर सार्वजनिक शौचालय संचालन गर्ने कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले बताउनु भएको छ। शौचालयमा सरसफाई नहुदाँ सर्बसाधरणले सास्ती भोग्नु परेको स्वीकार गर्दै व्यवस्थित गर्न जोड दिने सामाजिक विकास अधिकृत श्रेष्ठको भनाई छ। श्रेष्ठका अनुसार ठेक्का शौचालय संचालन गर्न दिदा यस्तो समस्या नभएको तर अहिले ठेक्का नलाग्दा समस्या देखिएको उल्लेख गर्नु भयो।

सदरमुकाम भित्र रहेका अधिकांश सरकारी कार्यालयका शौचालय पनि उत्तिकै फोहोर छन्। शौचालयमा पानी नहुनु, ढोकामा चुकुल नहुँनु त सामान्य जस्तै बनेका छन्।

प्रकाशित मिति : १८ माघ २०७८ मंगलबार ००:००  ६ : ४५ बजे