काठमाण्डौ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।
आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डौमा आयोजना गरेको नेपाल पावर मार्केट समिटु लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।
सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताउनुभयो । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गर्नुभयो ।
मन्त्री भुसालले भन्नुभयो, ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’
मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पुर्याउनुपर्ने मन्त्री भुसालले भन्नुभयो
प्रतिक्रिया