मायादेवी अनलाइन, चारनम्बर ।
स्थापनाको छोटो समयमा नै मानवीय र सामाजिक कार्य गरेर नेपाल स्वयम् सेवक संघ सबैको मुटुमा बस्न सफल भएको राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ वैरियामा भएको संघको प्रथम साधारण सभालाई सम्बोधन गर्दै घिमिरेले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि घिमिरेले संस्थाको नाम नै काफी रहेको बताउँदै यसका कार्यक्रमबाट आफू प्रभावित भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘यो संस्थाको बारेमा मलाई प्रत्यक्ष परोक्ष रुपमा थाहा थियो । आज संस्थाको बारेमा नजिकबाट सुन्न पाएँ । यस संस्थाले छोटो समयमा निकै अनुकरणीय काम गरेको रहेछ । निशुल्क खटिएर कुनै ब्यक्तिको ज्यान जोगाउन भूमिका खेल्नु भन्दा ठुलो कुरा अरु के हुन सक्छदछ ? अझै राम्रो गर्दै जानुहोस् शुभकामना । मेरो तर्फबाट सहयोग हुनेछ ।’
अहिलेका पुस्तामा स्वयम् सेवाको भावना हट्दै गएको भन्दै स्वयम सेवक संघले अब त्यो ग्यापलाई चिर्नु पर्ने आशयको भनाई घिमिरेले राख्नुभयो । समाजमा धेरै दुखी गरिबहरु रहेको भन्दै उनीहरुलाई सहयोग गर्दा सन्तुष्ट हुन सकिने भएकाले त्यस्तो कार्यमा सबै लाग्नु पर्नेमा उहाँको जोड छ । उहाँले यस्ता संस्थालाई सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो ।
विशिष्ट अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले स्वयम् सेवक संघले निकै राम्रो काम गरेको भन्दै प्रसंसा गर्नुभयो । बाणगंगाकी अनिता विकको जीवन रक्षा गर्न र अन्य पीडामा परेकाहरुलाई सहयोग गरेर संस्थाले ठुलो गुन लगाएको खनालले बताउनु भयो । उहाँले यस्ता संस्था कुनै संगठनका सदस्य बन्न नहुने बताउँदै त्यो गर्दाका दिन ंस्थाको गरिमा घट्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष पोम नारायण पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक दिनेश गुरुङ, मानव अधिकारकर्मी रवि ठाकुर, गैर सरकारी संस्थाका कपिलवस्तु अध्यक्ष प्रविण श्रीवास्तव, मानव अधिकार निगरानी समुह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मी, मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका अध्यक्ष गोविन्द पोख्रेल, रोटरी क्लवका अध्यक्ष माधव भाट क्षेत्री, लायन्स क्लवका अध्यक्ष धातानन्द भुसाल, इन्सेक प्रतिनिधि पार्वती आचार्य, कान्छी अधिवक्ता अंकिता श्रीवास्तव लगायतले बोल्दै संस्थाले छोटो समयमा निकै राम्रो काम गरेको भन्दै प्रसंसा गरेका थिए ।
केन्द्रीय संस्थापक अध्यक्ष खेमराज शर्माले संघको बारेमा छोटो प्रस्तुतीकरण गर्दै यसले गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो । स्थापना भएको अढाई बर्षमा केही नतिजामुखी काम गर्न सकिएको भन्दै उहाँले आगामी दिनमा एम्बुलेन्स खरिद गर्ने, गौरक्षाको लागि गौशाला बनाउने, अन्याय अत्याचारमा बसेका पीडित परिवार तथा ब्यक्तिको लागि सहयोग जुटाउने लगायतका काम गर्ने बताउनु भयो ।
स्वयसेवक संघले ‘अनिता बचाऔँ भियान थालेर कपिलवस्तुकी अनिता विकको सफल उपचार गर्न सकिएको उदाहरण प्रस्तुत गर्नुभयो । यस्तै काठमाण्डौँ, नवलपरासी लगायतका जिल्लामा पनि सरसफाई, रक्तदान, सहयोग लगायतका काम गरिएको उहाँले बताउनु भयो । कार्यक्रमकै अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिएका ३ दर्जन ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
संघको राष्ट्रिय पुरस्कारबाट मानव सेवा आश्रम बुटवल र पत्रकार चन्द्रकान्त न्यौपाने सम्मानित भएका छन् । मानव सेवा आश्रामले ‘स्वयम् सेवा मानव सेवा राष्ट्रिय सम्मान २०७८’पाएको छ भने पत्रकार न्यौपानेले ‘स्वयम् सेवा राष्ट्रिय बहुमुखी प्रतिभा पुरस्कार २०७८’ पाउनु भएको हो ।यस्तै कार्यसम्पादनमा नवलपरासी उत्कृष्ट जिल्ला घोषित भई पुरस्कार पाएको छ ।
संघकी केन्द्रीय महिला उपाध्यक्ष सरस्वती बस्यालको स्वागत, पत्रकार चन्द्रकान्त न्यौपानेको संचालन तथा कार्यक्रम संयोजक शुशिल खत्रीको धन्यबादमा सम्पन्न कार्यक्रममा अध्यक्ष शर्माले आगामी योजना प्रतिवेदन, महासचिव सन्तोष अधिकारीले बार्षिक प्रतिवदेन र केन्द्रीय सदस्य शान्ता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न जिल्लाबाट प्रतिनिधि आएका थिए । २०७६ सालमा स्थापना भएको संघको केन्द्रीय कार्यालय काठमाण्डौँमा छ भने यसले प्रदेश र जिल्ला शाखा पनि गठन गरिसकेको छ ।
प्रतिक्रिया