काठमाण्डौ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिवार बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिवार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचित भएको प्रमाणपत्रु वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
गएको मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको चुनावबाट केन्द्रीय कार्यसमितिका एक सय ३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ । निर्वाचित भएको प्रमाण पत्रु वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकेको र त्यो कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने उहाँले बताउनुभयो । तेह्रौँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय थियो ।
बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निर्णयसहित शनिवार नै आयोगमा राष्ट्रिय सभा सदस्य चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताउनुभयो ।
प्रतिक्रिया