८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महाधिवेशनबाट झन् शक्तिशाली देउवा



काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पार्टीभित्र झन् शक्तिशाली बनेका छन्।

बिहीबार सकिएको कांग्रेस १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा छन्। १३ पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीबाहेक सबै देउवा पक्षका छन्।

उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेता शेखर कोइरालानिकट हुन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने नेता प्रकाशमान सिंह प्यानलबाट लडेका थिए। शर्मा १३ औं महाधिवेशनदेखि नै देउवानिकट भए पनि महामन्त्रीमा टिकट नपाएपछि अन्तिम समयमा सिंह प्यानलबाट महामन्त्री उठेका थिए।

एक उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री तथा थोरै संख्यामा केन्द्रीय सदस्य देउवाइतरका छन्। कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यमा अधिकांश नयाँ अनुहार आएका छन्। सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक पदाधिकारीमा सबै नयाँ छन्।

देउवा समूहबाट उपसभापतिमा खड्का, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भिष्मराज आङ्दम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरीले जितेका छन्।

यीमध्ये उमाकान्त भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन्। सिटौला यसपालि देउवाको समर्थनमा थिए। सिटौलाले आफूनिकट नेतालाई महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य लिएर देउवासँग सहकार्य गरे। देउवा पक्षबाट महामन्त्रीमा प्रकाशशरण महत र सिटौलानिकट प्रदीप पौडेल उठे पनि पराजित भएका थिए।

देउवा आफैँ पहिलो चरणमा ८१ मत नपुगेर सभापति निर्वाचित भएनन्। दोस्रो चरणमा भने सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाएका देउवा अर्का उम्मेदवार शेखर कोइरालालाई हराउँदै निर्वाचित भएका थिए।

सिटौला पक्षको साथ लिँदा पहिलो चरणमै सभापति जित्ने आँकलन गरे पनि देउवाले ५० प्रतिशत मत कटाउन सकेनन्। सिटौला पक्षसँग १५० भन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको अनुमान गरे पनि त्यसअनुसार भोट नआएको देउवानिकट नेता दाबी गर्छन्।

कांग्रेसले विधान संशोधन गर्दै यसपालि पार्टीलाई संघीय संरचनामा ढालेको थियो। समावेशी सिद्धान्तलाई ध्यान दिएर खुला र कोटाबाट केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म चुन्ने व्यवस्था गरिएको थियो।

पदाधिकारीमा कोषाध्यक्षबाहेक १३ पद निर्वाचनबाट आएका छन्। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट अब सभापति देउवाले कोषाध्यक्ष मनोनित गर्न सक्छन्। महाधिवेशन प्रतिनिधिमध्येबाट सभापति देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पनि पाउँछन्। कांग्रेसमा १६७ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।

नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सीतादेवी यादवलगायतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन्। शीर्ष नेतालाई केन्द्रीय समितिमा राखेर कार्यसम्पादन समितिमा लैजाने तयारी देउवाको छ।

सभापतिदेखि केन्द्रीय कार्यसमितिमा निर्वाचित सबैलाई शनिबार निर्वाचन समितिबाट निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम छ। लगत्तै सानेपामा पहिलो केन्द्रीय समिति बैठक पनि राख्ने तयारीमा देउवा छन्।

कांग्रेसमा सभापतिपछि धेरै भूमिका महामन्त्रीलाई विधानले दिएको छ। महामन्त्रीद्वय गगन र विश्वप्रकाश देउवाइतरका छन्। महामन्त्रीमध्ये सभापति देउवाले कसलाई बढी भूमिका दिन्छन् अहिले नै खुलेको छैन। प्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वदलीय बैठकमा भने पार्टीका तर्फबाट गगनलाई बोलाएका थिए।

१३ औं महाधिवेशनदेखि नै विश्वप्रकाश पनि देउवानिकट नै थिए। उनलाई नै देउवाले प्रवक्ता नियुक्त गरे। तर यो महाधिवेशनमा देउवा टिमबाट विद्रोह गरेर विश्वप्रकाश सिंह टिममा पुगेका थिए। सभापति देउवासँग गगन र विश्वप्रकाश दुबैले सम्बन्ध मिलाउनुपर्ने देखिन्छ।

एक उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र करिब १५ केन्द्रीय सदस्य मात्रै आफूइतरले जितेकाले सभापति देउवालाई पार्टी सञ्चालन गर्न सजिलो छ। निर्वाचित भएका १२१ केन्द्रीय सदस्यमध्ये १०५ जनाभन्दा धेरै देउवा पक्षका छन्। देउवाले ३३ जना केन्द्रीय सदस्य अझै मनोनित गर्न सक्छन्।

०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि देउवा बहुमतमा थिए। तर देउवाले बहुमतको बल पार्टीमा देखाएनन्। विवाद भएका विषयमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा पूर्वपदाधिकारीलाई समेत स्थान दिएर निर्णय प्रक्रियामा सबै नेतालाई समेट्ने गरी भूमिका दिएका थिए।

सिटौला पक्षसहित देउवाका पक्षमा १४ औं महाधिवेशनबाट सहज बहुमत देखिएको छ। उनले कुनै प्रस्ताव पारित गर्नुपरे सहजै पारित गरिदिन सक्छन्। तर देउवाले पार्टीमा बहुमत र अल्पमत तथा ६०-४० अनुसार भागबन्डा गर्छन् गर्दैनन् त्यो हेर्न केही समय कुर्नुपर्ने हुन्छ।

सभापतिमा देउवासँग पराजित शेखर कोइरालाले आफूहरूले भागबन्डाको मागदाबी भने नगर्ने बताइसकेका छन्। यसले देउवालाई काम गर्न सहज बनाउनेछ। कोइरालाले विधानअनुसार पार्टी चलेको छ कि छैन कडाइसाथ हेर्ने चेतावनी दिइरहेका छन्।

देउवाको अघिल्लो कार्यकाल भने विधान कार्यान्वयनमा बिर्सनलायक रह्यो। देउवाले पार्टी र भातृ संस्थाका महाधिवेशन समयमै गराउन सकेनन्। पार्टी नै अवैधानिक हुने अवस्थामा पुगेपछि मात्रै हतारहतारमा महाधिवेशन गरिएको थियो। समय अभावले गर्दा १६ वटा जिल्ला अधिवेशन र प्रदेश २ अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्ने निर्णय नै गरिएको थियो।

देउवाले १३ औं महाधिवेशनबाट निर्वाचित भएको दुई महिनाभित्र बनाउनु पर्ने विभाग पनि कार्यकाल सकिने बेला मात्रै गठन गरे भने पौडेल पक्षबाट विभागमा प्रतिनिधित्व नै भएको थिएन।

देउवालाई अब तत्काल कोषाध्यक्ष मनोनित गर्न चुनौती छ। निर्वाचित केन्द्रीय सदस्य मध्येबाट एक जना कोषाध्यक्ष बनाउन मिल्छ। सुरेन्द्रराज पाण्डे, विनोद चौधरी, उमेश श्रेष्ठलगायत कोषाध्यक्षका आकांक्षी छन् तर पदाधिकारीमा एक मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई स्थान दिनुपर्ने मागसमेत भइरहेका छन्।

धेरै जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पकड रहेकोले देउवा झन् शक्तिशाली रूपमा कांग्रेस नेतृत्वमा दोस्रो कार्यकाल सुरूवात गर्ने चरणमा छन्।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  २ : ५४ बजे