८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुटवलमा नेपालले भने ‘ओली क्रान्तिकारी धार छाडेर राजाबादीसँग साँठगाठ गर्न पुगे’



बुटवल । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपि ओलीले क्रान्तिकारी धार छाडेर राजाबादीसँगको साँठगाठ गर्न पुगेको आरोप लगाएका छन । उनले ओलीले कम्यूनिष्ट धारबाट स्खलित भएको बताए । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार गर्न नसकेकै कारण विद्रोह गर्न बाध्य भएको बताए । उनले नेकपा एमालेलाई ओलीले दक्षिणपन्थी बाटोमा लगेको आरोप लगाए ।

उनले एमालेले आफ्नो क्रान्तिकारी धार त्यागेकै कारण आफूहरुले अलग बाटो रोज्नुपरेको बताए ।‘चिवनमा भएको कुभ्भमेलामा देख्नुभएन, आफैले आफैलाई अध्यक्ष बनाएको’ नेपालले ब्यङग्य गर्दै भने –‘ओलीमा भएको म नै सर्वेसर्वा, म नै राज्य भन्ने प्रवृत्तिले यो अवस्था आएको हो ।’ उनले महाधिवेशले एमालेलाई ओलीको प्राइभेट लिमिटेड बनाएको टिप्पणी गरे ।

अध्यक्ष नेपालले ओलीले माक्र्सबादी विचारधाराको पार्टीलाई भुत्ते बनाएर राजाबादीसँग साठगाठ र विदेशी शक्तिसँग लम्पसार परेको बताए । ‘कमल थापासँग ओली जीको साँठगाठ बढेको छ, मध्यरातमा खुवियाहरुसँग भेटघाट गरेको थाहै छ’ नेपालले भने –‘केपि ओलीमा स्खलन भयो, एमाले कम्यूनिष्ट धारमा छैन ।’ उनले पानी जहाजको गफ हाँकेर टावरमा अर्बो रकम हालेर समाजवाद नआउने भन्दै आलीलाई कटाक्ष गरे ।
उनले अहिलेको मुख्य प्रधान विरोध दलाल नोकरशाही पूँजीवाद नै भएको बताए । उनले नोकरशाही दलाल पूँजीवादलाई राजनीतिक संरक्षण भएकाले त्यस्तो प्रवृत्तिको विरोधमा आफ्नो पार्टी रहेको बताए । उनले आफूहरु कार्यकर्तामाझ भिजेको पार्टी बनाउने अभियानमा सामेल भएको बताए । उनले समाजवादी पार्टी चुनावदेखि चुनावसम्मको पार्टी नभएको बताए ।


‘चुनावदेखि चुनावसम्म होईन, हामीले जनतादेखि जनतासम्म भनेका छौं’ अध्यक्ष नेपालले भने –‘त्यसैले हामीले जनताको मूल्यांक, निगरानीमा बस्ने पार्टी बनाउँदैछौं’ उनले भने । उनले समाजवादी पार्टीलाई असल कार्यकर्ताहरुको पार्टी बनाउने बताए । उनले त्यसका लागि कार्यकर्ताहरुले माक्सवाद, प्रगतीशिल साहित्यहरु अध्ययन गर्नुपर्ने बताए ।त्यत्रो खर्च गरेर, पार्टी कार्यालय बनायौं भनेर कतिपय साथीहरु भन्नुहुन्छ, साँच्चि भन्ने हो भने केपि ओलीले बनाएका होईनन्’ नेपालले भने –‘घर हेर्दै रुदै बस्नुभन्दा त्यहाँबाट बाहिरिएका छौं, अब फेरी घर बनाउनेछौं, कार्यालय बनाउनेछौं ।’

उनले कार्यकर्तालाई मिठो बोलेर पार्टी संगठन निर्माणमा जुट्न समेत अपिल गरे । नेता नेपालले अब अब निर्वाचन प्रणालीमा परिवर्तन गुर्नपर्ने बताए । खर्चिलो र महगो बनेको निर्वाचन प्रणालीमा भोज र पैसामा भोट बेच्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताए । ‘धनीले मात्रै चुनाव लड्ने स्थिती आएको छ, अब यसमा सुधार गर्नुपर्छ’ नेपाललले भने ।

एमाले विभाजनपछि पहिलो पटक शक्ति प्रदर्शन सहित नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला स्तरीय कार्यकर्ता भेला एंव प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा समाजवादीका केन्द्रीय उपमहासचिव डा। विजय पौडेलले आफूहरुले विचारको पार्टी निर्माण गर्ने बताए । उनले ओलीले कम्यूनिष्ट विचारबाट च्यूत गरेका कार्यकर्तामा नयाँ उर्जा थप्ने बताए । उनले सामाजिक कुरिती विसंगती विरुद्ध पार्टीलाई उभ्याउने बताए ।

उनले कार्यकर्ताहरुलाई किताब अध्ययन गर्न आग्रह गरे । कार्यक्रममा समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, केन्द्रीय सदस्य डा। बालकृष्ण चापागाई, अर्का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव अविराम विश्वकर्मा लगायतले बोल्दै रुपन्देहीको भेलाले उत्साह थपेको बताउँदै ठूलो पार्टी बनाउने बताए । उक्त विभिन्न पार्टी परित्याग गरि २ सय बढि समाजवादीमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : २५ मंसिर २०७८ शनिबार ००:००  ६ : २२ बजे