दाङ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन् ।
७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अविश्वास बढ्ने बताए ।
उनले मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय आवश्यक रहेको समेत औँल्याए। उनले न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर्न समेत माग गरे ।
त्यस्तै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय कार्य समितिका वरिष्ठ उपसभापति सुशील बस्नेतले स्वतन्त्र न्यायालयमा भागबण्डाको लेनदेन हुनु दुर्भाग्यपूर्ण भएको भन्दै प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गरे ।
उनले न्यायालयलाई प्रदूषित बनाउन नहुने भन्दै न्यायालयलाई शुद्धीकरण गर्न माग गरे। शान्ति समाजले विभिन्न जिल्लामा प्रधानन्यायाधीश जबराको राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया