८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छः मन्त्री झाँक्री



काठमाडौं ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन्। चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरूरी रहेको औंल्याइन्।

समाज र सिंगो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरूरी रहेको उनको भनाइ छ। निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन्। उनका अनुसार व्यवसायीलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न र कामदारमैत्री बन्न आवश्यक छ।

उनले भने, निर्माण उद्योगमा क्रियाशील श्रमिकको हकहितलाई प्राथमिकतामा राख्नुपर्छ। निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन्।

निर्माण व्यवसायी मैत्री कानुन आवश्यक भएको उनको भनाइ छ। निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले बताइन्। रासस

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ६ : १० बजे