एजेन्सी ।
कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् ।
दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो ।
अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको बताएका छन् ।
तर डब्लुएचओका डा. माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए । अर्थात खोपले ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ ।
डब्लुएचओका आपतकालीन निर्देशक डा. रायनले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘हामीसँग प्रभावकारी खोप छन् र ती खोपहरु सबै भेरियन्टविरुद्ध गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिन सक्षम रहेको प्रमाणित भएको छ । अहिलेसम्म ओमिक्रोनविरुद्ध पनि खोप प्रभावकारी देखिएको छ ।’
डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने प्रारम्भीक तथ्यहरुले देखाएको उनले बताएका छन् । खोपले कम्तीमा पनि गम्भीर बिरामी हुनबाट रोक्ने देखिएको डा। रायनले बताए ।
दक्षिण अफ्रिकामा भएको अनुसन्धानमा कोरोना भाइरसको सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता ४० गुणा कम देखिएको छ । तर ओमिक्रोनविरुद्ध पनि काम गरेको भने देखिएको छ ।
डब्लुएचओले काम गरिरहेको बताए पनि वैज्ञानिकहरुले भने ओमिक्रोनले हालको खोपलाई छल्न सक्ने सम्भावना भने रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया