८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओलीले आफैलाई अध्यक्ष घोषणा गरे, भीम रावलले दिए चुनौती



चितवन ।
आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको नाम प्रस्ताव गरे । उज्यालो हुनैलाग्दा ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरे ।

अध्यक्षमण्डलका तर्फबाट भनेर उनले पदाधिकारीमा आफूसहित विभिन्न नेताहरूको नाम प्रस्ताव गरेका हुन् । उनले अध्यक्षमा आफैँलाई प्रस्ताव गरेका थिए ।

सौराहाको होटेल सेभेन स्टारमा चलेको बन्द सत्रमा अध्यक्षमा आफूलाई प्रस्ताव गर्दा हल तालीले गुन्जिएको थियो । उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरे ।

यस्तै, उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरे । महासचिवमा भने शंकर पोखरेलको नाम प्रस्ताव गरे ।

ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरे ।


उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव हुँदा सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव भयो ।

ओलीले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका भीम रावललाई भने सम्झाउन नसकिएको बताए । “उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नुुभो । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएको छैन । उम्मेदवारी नदिन आग्रह गर्छौं,” ओलीले भने ।

जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताए ।

रावलले नमानेसँगै अब निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । निर्वाचनको प्रक्रिया सोमबार बिहान सुरु हुने भएको छ । रावलले आफ्नो अडान नछाडेपछि सर्वसम्मत बन्ने ओलीको चाहनामा ‘ब्रेक’ लाग्ने देखिएको छ ।


यसअघि उपमहासचिव रहेका घनश्याम भुसाललाई ओलीले यसपटक पदाधिकारीमा समेटेका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ६ : १८ बजे