८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

निर्वाचन कार्यालय कपिलवस्तुद्धारा ८ पालिकामा मतदाता नामावली संकलन गर्दै



मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले ८ स्थानीय तहमा मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । आइतवार भएको मतदाता नामावली संकलन बिषेश कार्यक्रम २०७८ सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै जिल्लाको ८ स्थानीय तहमा पनि यही मंसीर १७ गतेबाट नामावली संकलन गरिने भएको हो ।

जिल्लाको कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका र महाराजगंज नगरपालिकामा यही मंसीर १७ गते देखि पुष २ गतेसम्म नामावली संकलन गरिनेछ भने वाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकामा पुष ४ गते देखि १८ गतेसम्म नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

मतदाता नामावली दर्ता र संकलनको कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन् भन्ने मुख्य उद्देश्य रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनु भएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी रहेका नेपाली नागरिकहरूले आफ्नो स्थानीय तह वा नामावली सङ्कलन भइरहेको स्थानमा नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अनुरोध समेत गर्नु भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले निर्वाचनमा चुन्न र आफु चुनिन पाउने अधिकार रहेको हुँदा यस्तो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित नहुन भन्नेमा जिल्ला निर्वाचन कार्यालय सदैव सचेत रहँदै आएको हुदा यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : २३ बजे