८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कांग्रेस दाङ सभापतिमा शंकर डाँगी निर्वाचित



दाङ ।
नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । निर्वाचनमा दोस्रो भएका सभापतिका उम्मेदवार भुपबहादुर डाँगीले समर्थन गरेपछि शंकर सभापतिमा निर्वाचित भएका हुन् ।

यसअघि शनिबार भएको निर्वाचनमा शंकरले ७ सय ७६ मतका साथ पहिलो भएका थिए भने भुपबहादुर ५ सय ४५ मतका साथ दोस्रो भएका थिए । सभापतका उम्मेदवार जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत पाएका थिए ।

पहिलो चरणमा शंकरले ५१ प्रतिशत मत नपाएपछि आइतबार बिहान पुनस्मतदान हुने कार्यतालिका थियो । तर, दोस्रो भएका भुपबहादुरले शंकरलाई समर्थन गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउनु नपरेको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा निर्वाचित डाँगी यसअघिको कार्यसमितिमा सर्वाधिक मतका साथ सचिवमा निर्वाचित भएका थिए । सभापतिमा निर्वाचित डाँगी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् ।

यस्तै उपसभापतिमा गिरीराज सुवेदी र कमानसिंह भारती निर्वाचित भएका छन् । सुवेदी संस्थापन इतर र भारती संस्थापन समूहका हुन् । सचिवमा अर्जुनकुमार योगी र बालिका लम्साल निर्वाचित भएका छन् ।

त्यस्तै सहसचिवमा राजु आचार्य र सुवोध कुमार डाँगी विजयी भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  १ : ०२ बजे