पोखरा ।
नेकपा (एकीकृत समाजवादी)ले मुस्ताङमा जिल्ला कमिटी गठन गरेको छ । शनिबार सम्पन्न एकीकृत समाजवादीको जिल्ला भेलाले भीम रसाईलीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा छिरिङ गुरुङ, शंकर गुरुङ र दुर्गा विक चयन भएका छन् । सचिबमा रुपना थकाली र उपसचिवमा दुर्गी बिक चयन भएका छन् । एकीकृत समाजवादी मुस्ताङमा ५१ सदस्यीय कमिटी गठन गरिएको हो । नयाँ कार्यसमिति चयनका लागि बोलाइएको भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चुडामणि जंगलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफ्नो पार्टीले नयाँढंगले उचाई दिने बताए ।
देशका सच्च कम्युनिष्टहरु आफ्नो पार्टीमा सामेल हुने लहर चलेको भन्दै उनले अब कम्युनिष्टको नाम भज्याएर नक्कली कुरा गर्नेहरु दिन सकिएको टिप्पणी गरे । ‘अब कम्युनिष्टको नाम भज्याएर नक्कली कुरा गर्नेहरुका दिन सकिए । असली कम्युनिष्टले नेकपा एकीकृत समाजवादी रोज्ने देशभर नै लहर चलेको छ’ उनले भने, ‘हेर्दै जानुहोला अब यही पार्टीको नेतृत्वमा कम्युनिष्टहरु गोलबन्द हुन्छन् र काम गरेर यही पार्टीले देखाउने छ’
अर्का स्थायी समिति सदस्य रामजी शर्माले कम्युनिष्ट पार्टी गफले नभई सिद्धान्त अनुरुपको व्यवहारले चल्ने धारणा राखे । कम्युनिष्टहरु जे गर्न सकिन्छ त्यो बोल्नुपर्ने र बोलेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा उनको जोड थियो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य सदस्य एवं कास्की अध्यक्ष धनराज आचार्यले जनताको सेवा गर्नु नै कम्युनिष्ट पार्टीको मुल धर्म रहेको धारणा राखे ।
जनताको आजको आवश्यकता सम्बोधन नगरी ठूला ठूला सपना देखाएर निरासा ल्याउने बाहेक अरु काम नहुने उनको भनाई थियो । ‘जनताको सेवा गर्नु हामी कम्युनिष्टको धर्म हो । उनीहरुको आधारभूत आवश्यकता पुरा नभई ठूला सपना देखाउने अनि केही नगर्नु बेइमानी हुन्छ । त्यसले जनतामा उत्साह भन्दापनि निरासा पैदा गर्छ ।’ उनले भने ।
कार्यक्रममा एकीकृत समाजवादी कास्कीका सचिब होमबहादुर नेपाली र सदस्य तीलक बिक सहित मुस्ताङ जिल्ला स्थित एकीकृत समाजवादीका नेता कार्यकर्ता, राजनीतिक पार्टीका प्रतिनिधि एवं संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
यसैबीच मुस्ताङ जिल्ला कमिटीको कार्यालय पनि शनिबार नै उद्घाट गरिएको छ । स्थायी समिति सदस्य चुडामणी जंगलीले एक कार्यलयका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया