मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत जिल्ला तहमा हुने अधिवेशनमा जिल्लामा त्रिपक्षिय प्रतिस्पर्धाको संकेत देखिएको हो ।
पछिल्लो समय परिमार्जित कांग्रेसको महाधिवेशन कार्यतालिका अन्तरगत शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रिय समितिको उम्मेदवारी मनोनयन हुँदै छ । जिल्लाका १० पालिका मध्ये सबै पालिकामा चुनावबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, सुधाकर पाण्डे र अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने भएको छ ।
यी तीन जना नेताले फेसबुक मार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । पूर्व जिल्ला पार्टी सभापति भएका आचार्य र पाण्डेय यो पालि जिल्ला सभापतिको आकांक्षी देखिएका छन् भने, कलाम वर्तमान उप-सभापति भएको कारण स्वभाविक रुपमा आफु सभापतिको उम्मेदवार रहेको बताउँदै आएका छन् ।
सभापति शेर बहादुर देउवा निकटका आचार्यले वडा अधिवेशन लगत्तै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागे पनि रामचन्द्र पौडेल पक्षले आधिकारीक रुपमा उम्मेदवार खडा गरेको छैन् । पाण्डेय र कलाम दुवै जना पौडेल निकटका हुन् ।
पौडेल पक्षको बाहुल्यता रहेको दाबी गरिएको कपिलवस्तुमा सभापतिको एकल उम्मेदवारी बनाएर चुनाव लडाउन हम्मे हम्मे परेको छ । दिनहुँ बैठक बसेपनि जिल्ला सभापति रहेका सुरेन्द्र आचार्यले एक मात्र सभापति उठाउन सकेका छैनन् । यद्यपि पाण्डेय र कलामले उम्मेदवारी घोषणा गरेपछि कांग्रेस बृत्तमा चुनावी चर्चाको माहोल झन तातिएको छ । पौडेल पक्षले जिल्लामा एक मात्र उम्मेदवार कसलाई उठाउँछ भन्ने आम चासो छ । पालिका अधिवेशनमा एकलौटी जित निकालेको पौडेल पक्षले जिल्लामा पनि बर्चश्व कायम गर्न चाहन्छ ।
आम कार्यकर्ताले जिल्लामा सभापति सहमतिको ढंगबाट टुङ्याउनुपर्ने बताउँदै आएका छन् । तर, कार्यकर्ताको मनोभावना अनुसार हुन्छ की विपरित हुन्छ पाण्डेय र कलामले उम्मेदवारको मनोनयन दर्ता पछाडि बल्ल थाहा हुन्छ ।
प्रतिक्रिया