८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

संयुक्त राष्ट्रसंघ महासचिव भन्छन्ः हामीले आफ्नै चिहान खनिरहेका छौँ



काठमाण्डौँ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका छन् ।

उनले स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनकोप २६ अन्तर्गत लिडर्स समिट अर्थात विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै जलवायु संकटलाई ‘मानव समुदायको चिहान’सँग तुलना गरेका छन् ।

महासचिव गुट्रेसले जलवायु परिवर्तनलाई सहयोग गर्ने विश्वव्यापी तापमान वृद्धिको कारक हरितगृह ग्यासको उत्सर्जन कटौतीका तत्काल ठोस कदम चाल्न र आफ्नो वाचा पूरा गर्न अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘खनिज इन्धनप्रतिको हाम्रो लतले मानवीयतालाई संघारमा धकेलेको छ ।’

उनले चेतावनीको भाषामा भनेका छन्, ‘कि हामीले यसको प्रयोग रोकौँ, होइन भने यसले हामीलाई रोक्ने छ । यो समय अब भयो पुग्यो अति भयो भन्ने बेला हो, कार्बनबाट हामीले आफैलाई मारिरहेका छौँ । खनिज इन्धनको प्रयोग, उत्खनन् अति भयो । हामीले हाम्रो आफ्नो चिहान खनिरहेका छौँ ।’

महासचिव गुट्रेसले जलवायु परिवर्तनको नकारात्मक प्रभावको उच्च जोखिममा रहेको र अहिले नै संकटको सामना गरिरहेका देशहरुलाई सहयोग गर्नका लागि पर्याप्त कोषको व्यवस्था र त्यसमा सहज पहुँचको आवश्यकतामा जोड दिएका छन् । उनले ग्लास्गोबाट मानव सभ्यतामाथिको गम्भीर चुनौती जलवायु संकटसँग जुध्नका लागिअत्यावश्यक कार्यमा सहमति जुट्ने अपेक्षा रहेको बताए।

प्रकाशित मिति : १६ कार्तिक २०७८ मंगलबार ००:००  ६ : ३५ बजे