८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ताजिकिस्तानसँग नेपालको ठुलो अन्तरको हार



काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो ।

ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलको २४ औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २-० ले अघि रह्यो ।खेलको ४१ औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टिम पहिलो हाफमा ३-० ले अघि रह्यो ।खेलको ६३ औं मिनेटमा अजिजबोएभले गोल गर्दा घरेलु टिम ४-० ले अघि रह्यो ।

६८ औं मिनेटमा हानोनोभले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।त्यसपछि खेलको ७२ औं मिनेटमा अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० गोलको जित दिलाए ।जितसँगै समूह बी को ताजिकिस्तानले २ खेलमा ६ अंक जोडेको छ ।

ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।ताजिकिस्तान यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ ।समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू(२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ६ : ०६ बजे