मायादेवी अनलाइन, वाणगंगा ।
विभिन्न ६ बुँदे माग राखि सिद्धार्थ क्याम्पसमा बुझाइएको ज्ञापनपत्रमा क्याम्पस सञ्चालक सकारात्मक देखिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीमा रहेको जिल्लाकै ठूलो क्याम्पस सिद्धार्थ क्याम्पसमा कार्तिक ७ गते आइतबार एक हप्ते अल्टिमेटम दिदैं ४ विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका थिए ।
विहीबार क्याम्पस सञ्चालक समितिले ज्ञापनपत्र बुझाउने ४ संगठन अनेरास्ववियू (क्रान्तिकारी) अनेरास्ववियू, अखिल (क्रान्तिकारी) र अखिल छैठौंका जिल्ला अध्यक्षलाई बोलाई वार्ता गराएको छ ।
पहिलो चरणको वार्तामा आफुहरुले राखेका विभिन्न मागहरु मध्ये क्याम्पस सञ्चालक सकारात्मक देखिएको अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो । कोरोना भाइरसको कारण लकडाउनको समयमा लिइएको मासिक शुल्क, छात्रवृत्ती वितरणको पारदर्शिता, क्याम्पस सभा तत्काल बोलाउनुपर्ने मागमा क्याम्पस सञ्चालक सकारात्मक देखिएको अध्यक्ष अनुरागीले बताउनुभयो । यद्यपि छलफल सकारात्मक भएपनि कुनै सहमति भने नभएको उहाँले बताउनुभयो । आगामी कार्तिक मसान्त भित्र दोस्रो पटक वार्ता गर्ने गरी छलफल टुङ्गिएको उहाँले बताउनुभयो ।
आफुहरुले ७ दिने समय दिएर राखेका माग अर्को बैठकमा सम्बोधन हुनेमा अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले विश्वास व्यक्त गर्नुभएकोछ । आजको बैठकमा ६ बुँदे ज्ञापनपत्रमा अधिकांश मागबारे क्याम्पस सञ्चालक सकारात्मक देखिएको उहाँले जनाउनुभयो ।
यता विद्यार्थी संगठनसंगको वार्तामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेलले विद्यार्थी संगठनले राखेका कतिपय मागलाई सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभयो । क्याम्पस सञ्चालन गर्दा विभिन्न चुनौतीहरु रहेपनि विद्यार्थीले राखेका मागबारे आफुहरु सकारात्मक नै रहेको अध्यक्ष पोख्रेलले बताउनुभयो । तर, अझै मागबारे अझै छलफल गरेर निचोड निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रवि काफ्लेले विद्यार्थी संगठनहरुको सहकार्यबाट नै आफुहरु अगाडी बढ्न चाहेको बताउनुभयो । सामुदायिक क्याम्पस सञ्चालन गर्दा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिदैं क्याम्पसले गर्न सक्ने मागलाई सम्बोधन गर्न सञ्चालक तयार रहेको उपाध्यक्ष काफ्ले बताउनुभयो ।
छलफलमा राष्ट्रिय सभा सदस्य तथा क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरे, अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियू कपिलवस्तुका कोषाध्यक्ष कमल बेल्वासे, क्याम्पस प्रमुख खेमराज शर्मा, स्ववियू सभापति सुशील खत्री लगायतको उपस्थिति रहेको थियो ।
ज्ञापनपत्रमा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघको संलनग्ता रहेको छैन् ।
यो पनि पढ्नुहोस कपिलवस्तुका चार विद्यार्थी संगठनले बुझाए सिद्धार्थ क्याम्पसमा ज्ञापनपत्र
प्रतिक्रिया