काठमाडौं ।
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण रोक्दै पार्टी एकता गर्नुपर्ने विषय उठेको छ । विधान महाधिवेशनस्थल अध्यक्ष केपी ओलीको फोटोमय बनाइएको बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् । प्रदेश १ को टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताए । उनले अघि भने, ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ ।’
एमाले विभाजनको कारण सैद्धान्तिक, वैचारिक नभई नेतृत्वको देवत्वकरण र भ्रष्टीकरण भएको विषय समूहगत छलफलको क्रममा उठेको छ । एमाले विगतमा सामूहिक नेतृत्वको आधारमा चलेपछि पछिल्लो समय सामूहिकता हराउँदै गएकोमा कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । विभाजनले एमालेलाई कमजोर बनाउने भएकाले कमीकमजोरी सच्याएर एकताको लागि आह्वान गर्नुपर्ने मत पनि उठेको छ।
‘विभाजनको केही कारण छैन, नेतृत्वको देवत्वकरण, भ्रष्टीकरणको कारणले विभाजन भएको हो । यसको अन्त्य गर्नुपर्छ, एमाले एकताका लागि आह्वान गर्नुपर्छ।’ समूहगत छलफल उठेको विषय उद्धृत गर्दै एक प्रतिनिधिले भने, ‘एमाले छाडेर जाने कुरा ठीक होइन, आचरणगत विषयले समस्या पारेको छ। फरक मत राख्नेलाई पनि पार्टी एकतामा आह्वान गर्नुपर्छ ।’
बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको जानकारी दिए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिए । समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्ने मत राखेका छन् । हाल विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ ।
प्रतिक्रिया