पाल्पा ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्ने धुन्धुकारी भएको आरोप लगाएका छन् । कम्युनिष्ट आन्दोलन सिध्याउने खेलमा ओली २०७१ सालदेखि निरन्तर लागेको उनको आरोप छ ।
नेकपा (एकीकृत समाजवादी) को पाल्पा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा शनिबार उपाध्यक्ष पाण्डेले भने, ‘कहाँबाट जन्मिए एउटा धुन्धुकारी ? यीनले कम्युनिष्ट आन्दोलनलाई सिध्याउने हुन् ।’
ओली धुन्धुकारी हुनुको उदाहरण केन्द्रीय विधान महाधिवेशनमा तामझाम देखिएको भन्दै पाण्डेले काठमाडौंका पोल, भित्ता, चोकचोकमा र पानीको बोतलमा समेत ओलीको फोटो राखिएको टिप्पणी गरे । ‘अब केही दिनपछि हिृस्कीको बोतलमा समेत ओलीको फोटो आउन बेर छैन’ उनले व्यङग्य गर्दै भने । काठमाण्डौका सारा सडकमा ओली जीको लार्ज साइजको फोटो राखेको तर विद्यान महाधिवेशनको हलभित्र कम्युनिष्ट पार्टीका नेताको फोटो नदेखिएएको उनले बताए ।
केपी ओलीले कम्युनिष्ट आन्दोलनको नाटक गरिरहेको र आन्दोलनलाई भत्काउने प्रयास गरेकाले नै आफूहरुले विद्रोह गरेको उपाध्यक्ष पाण्डेले बताए । पिलो हो चोइटिएर गएको भन्ने हो भने किन टाउको दुखाई रुवाबासी नगर्न उनले आग्रह गरे । ‘चोइटिएरै गएको भए टाउको दुखाई र रुवाबासी गर्नु भएन,’ उनले भने, ‘मेरो सरकार ढाल्ने, लाल गद्दार हुने किन भनिराखेको ?’ ओलीले सत्तामा बस्न नपाएको रिस पोख्ने काम भएको उनले बताए । केही झुण्ड लिएर बालकोट पुगेका ओली अहिले आक्रोश पोख्नमा व्यस्त रहेको उनले बताए ।
केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टी विद्रोह बाध्यता रहेको बताउँदै पार्टीको मुली व्यक्तिबाटै समन्वय गर्न नसकेको बताए । केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरेले बाध्यता र विवशताका बीच पार्टीभित्र विद्रोह भएको बताउँदै अहिले ओलीको व्यक्ति पूजा भइरहेको आरोप लगाए ।
सोही अवसरमा आशिष श्रेष्ठको अध्यक्षतामा युवा संघ गठन गरेको छ । युवा संघमा भिमीसरा थापा र यादव भुसाल उपाध्यक्ष, संजय घले सचिव, जोगन भुजेल सहसचिव, अच्युत पाण्डेय कोषाध्यक्ष रहेको ७५ सदस्यीय समिति गठन गरेको नेकपा (एस) का जिल्ला अध्यक्ष कमल पाण्डेले बताए । उमेश भण्डारीको संयोजक र रोशन कँडेल उपसंयोजक रहेको भेला आयोजक कमिटी पनि गठन गरिएको छ ।
प्रतिक्रिया