८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अनिता विकको उपचारमा बुटवलबाट आयो १ लाख बढी सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकी अनिता विकको उपचारको लागि सहयोग जुट्ने क्रम जारी छ । अनिता विकको दयनीय अवस्थाको बारेमा मायादेवी मिडिया ग्रुपले पहिलोपटक भिडियो प्रसारण गरेपछि अनितालाई सहयोग जुट्न सुरु भएको हो । यसैक्रममा रोटरी क्लव अफ बुटवल डाउन टाउन हिल पार्कको अग्रसरतामा वि.क.को परिवारलाई शनिबार १ लाख १ हजार रुपैयाँ सहयोग गरिएको छ ।

क्लवका सह–सचिव हरि खरेलका अनुसार ५० हजार क्लवबाट र पदाधिबारीबाट ५१ हजार गरी सो रकम अनिताका ससुरालाई घरमै पुगेर हस्तान्तरण गरिएको छ । सहयोग कार्यक्रममा क्लवका अध्यक्ष जीवन कक्षपति, ए.जि. नारायण प्रसाद पन्थ, ए.जि. जीवन अधिकारी लगाएत क्लवका पदाधिकारीको उपस्थिती रहेको युवा व्यवसायी मदन पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

क्लवका पदाधिकारीले भावी दिनमा पनि सहयोग गर्ने बताएका छन् । पारिवारिक श्रोतका अनुसार पहिले भन्दा अनिताको स्वास्थ्य अवस्था अहिले केही सुधार हुँदै गएको छ । २ महिनाकी गर्भवती अनिताको दैनिक उपचारमै १ लाख बढी रकम लाग्छ । घर र जग्गा धितोमा राखी लिएको २० लाख रुपैयाँ समेत सकिएपछि अनिताको परिवार अहिले सबैसंग सहयोग माग्न बाध्य छ ।

मायादेवी मिडियाले अहिले काठमाडौमा उपचाररत विकको जीवन बचाऔँ अभियान नै थालेको छ । यसपछि थुप्रै संस्था र ब्यक्ति अनिताको घरमै पुगेर सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ८ : १६ बजे