८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

दलाल र लुटेराको पार्टी एमालेसंग नेकपा एसको तुलना हुँदैनः अध्यक्ष शाही



मायादेवी अनलाइन, वाणगंगा ।
युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले केपी ओलीले नेतृत्व गरेको एमालेसंग नेकपा (एकीकृत समाजवादी) को तुलना हुनै नसक्ने बताउनु भएको छ । एमाले कम्युनिष्ट पार्टी नभएर दलाल, लुटेरा र भ्रष्टहरुको पार्टी भएकाले नेकपा (एस)को तुलना हुनै नसक्ने बताउनु भएको हो ।
कपिलवस्तु्को बाणगंगा नगरपालिकामा शनिबार भएको युवा संघ, अनेरास्ववियू र पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी घोषणा तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले अबको प्रतिस्पर्धा एमालेसंग नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘७० करोड टेप प्रकरण, यति, ओम्नी, बालुवाटार काण्ड, कोरोनाको औषधी र पशुपतिनाथको जलहरी खरिदमा भएका भ्रष्टाचार तथा अन्य काण्डले एमाले लुटेराको पार्टी हो भन्ने पुष्टि गर्दछ । यो कुरा एउटा हलो जोत्ने किसानलाई थाहा छ । मजदुरलाई थाहा छ । गृहिणीलाई थाहा छ । केपीको बारेमा कुरा गरेर अब समय खेर नफालौँ ।’

एमालेले विधान अधिवेशनमा देखाएको चर्तिकला र भड्किलोपनले पनि त्यो पुष्टि गरेको उहाँको भनाई छ । उहाँले अब नेकपा (एस)को प्रतिपस्पर्धा ओलीसंग नभएर समाजका उत्पीडन, विकृति, विभेद, भ्रष्टाचार अन्त्यसंग भएको बताउँदै सोही प्रकारले समाजमा परिचालन हुन युवा विद्यार्थीलाई निर्देशन दिनुभयो ।

ओली नेतृत्वको पार्टी र सरकार चारैतिर बदनाम भएकाले जनतामाझ भोट माग्न जाने कुनै नैतिक आधारसमेत नभएको शाहीको भनाई छ । शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र विकासमा ओलीले कुनै माखो मार्न नसक्दा चारैतिर वितृष्णा थपिएको स्मरण गर्दै आगामी चुनावमै उनीहरु बढारिने उहाँको दावी छ ।

उहाँले भन्नुभयो, ‘आगामी चुनावमा एमालेको सर्वनाक हार हुँदैछ । उनीहरु पराजित हुँदैछन् । चुनावमा जाने एजेण्डा छैनन् । आउँदो स्थानीय, संघ, प्रदेश चुनावमै नेकपा (एस)ले धक्का दिने मात्रै काम गर्ने छैन । हराएर विजयीको झण्डा फहराउने काम गर्नेछ । उच्च मनोबलका साथ ढुक्क भएर संगठन विस्तारमा लाग्नुहोस् ।’

युवा संघ नेपाल र अनेरास्ववियूमा आवद्ध युवा र विद्यार्थीको आचरण, विचार, आनीबानी, क्रियाकलाप नितान्त फरक हुनुपर्ने शाहीले बताउनु भयो । करिब १ घण्टा प्रशिक्षणमुलक भाषण दिनु भएका उहाँले एमालेका कार्यकर्ता अराजक, फटाह, दलाल र भ्रष्ट भएको आरोप लगाउँदै नेकपा (एस) का कार्यकर्ता त्यस्तो नबनी अनुशाषित, अध्ययनशिल, चिन्तनशिल हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममार्फत् ५७ सदस्यीय युवा संघ, ७१ सदस्यीय पिभी र ५१ सदस्यीय अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ७ : ५४ बजे