सिद्धार्थनगर ।
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो। विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ। उनले भने, हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ।
क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँचरसात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ। उडानका क्रममा एन्टेना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ।
क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरु गर्ने गर्दछन्। गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ। परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ। कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन्।
पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत छ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ। दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँ भएको छ।
त्यस अतिरिक्त कार्गो निर्माणमा ९० करोडको काम भएको छ। यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ। यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबीको ६२ दशमलब ६ प्रतिशत हिस्सा छ। भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरु गरेको हो।
प्रतिक्रिया