८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रोल्पामा रक्त सञ्चार सेवा केन्द्र स्थापना



रोल्पा ।
रोल्पामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको छ । शुक्रबार रोल्पा नगरपालिकाको रेउघामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको हो ।

केन्द्रको उद्घाटन लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले रिवन काटेर सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । लामो समयको प्रयासपछि रक्त सञ्चार सेवा केन्द्र स्थापना भएको भन्दै सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् । सेवा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन ‘सिजल’ले रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि रेडक्रससहित सरोकारवाला निकायहरुले विभिन्न चरणहरु पार गर्दै आएको चर्चा गर्नुभयो ।

यसअघि आपतकालीन रुपमा विभिन्न व्यक्तिहरुको सहयोगमा रगत अभाव पूर्ती हुँदै आए पनि अब भने त्यो समस्या दूर भएको बताउनुभयो । सेवा केन्द्रको दीगोपनाका लागि कोष खडा गरेर काम गर्न उहाँले सुझाव समेत दिनुभयो । जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियारले रगत अभावका कारण रोल्पालीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

स्थानीय तहहरुको तर्फबाट बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रेडक्रसको अगुवाईमा जिल्लाका दशवटै स्थानीय तहहरुले आर्थिक साझेदारी गरेको बताउनुभयो । उहाँले रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा ३ लाख दिएको र अहिलेको नीति तथा कार्यक्रममै राखेर ५ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । अन्य गाउँपालिकाले पनि रकम उपलब्ध गराएका छन् ।

सेवा केन्द्रका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कोष खडा गरेर गएमा दीर्घकालीन हुने बताउदै कोषका लागि १५ दिनको रु. २० हजार तलब दिने घोषणा समेत गर्नुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ८ : २७ बजे