काठमाडौँ ।
जापानको राजधानी टोकियोमा ३२ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता शुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।
शुक्रबार अपराह्न ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह भएको हो । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरू उद्घाटन समारोहमा उपस्थित भएका छन् ।
जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित शुरू भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतिसबाजी पनि प्रस्तुत गरिएको छ । कोरोना महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।
ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना खेलाडी सहभागी छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छन् ।
प्रतिक्रिया