मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना माहामारीका बीच विगतमा मलखादको समस्या भोगेका कपिलवस्तुका किसानले यसपालि भने मलको समस्या खासै व्यर्होन नपरेको बताएका छन् । समयमै वर्षासँगै किसानले मलखाद पाएपछि कपिलवस्तुमा साउनको पहिलो सातासम्म ९० प्रतिशत रोपाई सम्पन्न भएको कृषिका अधिकारी बताउँछन् ।
धान रोपेको २२ दिनमा युरिया मल राख्नुपर्ने भएपछि किसानको कृषि सामग्री केन्द्रमा मलखाद लिन भीड नै लाग्ने गरेको छ । सरकारले यसपालि समयमै बँगलादेशबाट मलखाद ल्याएकाले किसानले मलका लागि विगतमा जस्तो समस्या व्यहोर्न परेको छैन ।
कपिलवस्तुमा १८ हजार मेट्रिक टन युरिया आवश्यक पर्दछ भने डिएपी १२ हजार मेट्रिक टन त्यसैगरी पोटास ४ हजार मेट्रिक टन आवश्यक पर्दछ । जसमध्ये हालसम्म युरीया ३ हजार ३ सय २६ मेट्रिक टन, डिएपी ३६ सय ६८ मेट्रिक टन र पोटास ३ सय ९५ मेट्रिक टन विक्रिवितरण भएको तौलिहवा कृषि सामग्री केन्द्रका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
कपिलवस्तुको बहादुरगन्ज र तौलिहवामा रहेका २ बटा कृषि सामग्री कम्पनीबाट मलखाद विक्रि हुँदै आएको छ । कपिलवस्तुमा खेतीयोग्य ८३ हजार हेक्टर जमिनमध्ये ७२ हजार हेक्टरमा धान बाली रोपिन्छ ।
प्रतिक्रिया