८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माओवादी नेता पाण्डे हत्याकाण्डः ११ जना पुर्पक्षका लागि कारागार चलान



कपिलवस्तु ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका ११ जना नै पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमती महिमासहित ११ जना नै बिहीवार कारागार चलान भएका हुन् । उनीहरुमाथि हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराध मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको थियो ।

जिल्ला न्यायधिश बसन्तजंग थापाको इजलासले ओरोपीहरुलाई पुर्वपक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, मृतक पाण्डेयकी श्रीमती महिमा, नगरपालिका वडा नम्बर २ का साकिर अली पखिया, रमजाान शाह, नगरपालिका वडा नम्बर १ का पुणीबीर पाल्पाली, सद्दाम हुसेन, कारागार चलान भएका छन् ।

यस्तै बरगदवाका प्रविण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलिलाई समेत कारागार पठाइएको छ । माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेय सहित तीन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किँदै गर्दा उनीहरु माथि गोली प्रहार भएको थियो । सो सम्बन्धमा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वमा ’माईक व्हिस्की’ नामको अप्रेशन टोली खडा गरी घटनाको अनुन्धान गरेको थियो । जनता समाजबादी पार्टीका प्रदेश स्तरीय विद्यार्थी संगठनका अध्यक्ष समेत रहेका ओम प्रकाश र मृतककी श्रीमती महिमाबीच ५ वर्षको अनैतिक सम्बन्धका कारण नै घटना भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

मृतककी श्रीमतीकै योजनाअनुसार ओम प्रकाशले एक लाख सुपारी दिएर पाण्डेयलाई हत्या गर्न लगाएका थिए । टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो । त्यसैगरी हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो । त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पु¥याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ८ : ११ बजे