पाल्पा ।
रिब्दीकोट गाउँपालिकाले पुष्पलाल र बीपी स्मृति दिवस एउटै मञ्चमा मनाएको छ । बीपी स्मृति दिवस साउन ६ र पुष्पलालको साउन ७ गते पर्छ । दुवैको संयुक्त रूपमा बिहीबार मनाइएको हो । कम्युनिस्टले पुष्पलाल र कांग्रेसले बीपी स्मृति दिवस मनाउने गर्छन् ।
एउटै मञ्चबाट बीपी र पुष्पलाल स्मृति दिवस मनाएर नयाँ सन्देश प्रवाह गर्न खोजिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए । ‘दुवै जना हामी सबैले मान्नुपर्ने नेता हुन्,’ उनले भने, ‘मुलुकमा प्रजातन्त्र बहालीका लागि दुवै नेताको उत्तिकै योगदान छ । त्यसैले हामीले एउटै मञ्चमा स्मृति दिवस मनाएको हो ।’
प्रजातान्त्रिक विचारधाराले जननेता बीपी कोइराला प्रख्यात छन् । वाम विचारधारा पक्षधरले जननेता पुष्पलालको स्मृति दिवस फरक ढंगले मनाउने गर्छन् । एउटै मञ्चमा बीपी र पुष्पलालको फोटोका साथै व्यानर राखेर स्मृति दिवस मनाइएको हो । कार्यक्रममा जनप्रतिनिधि, दलका नेता, कर्मचारी उपस्थित थिए । बीपी र पुष्पलालको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरिएको थियो ।
एमाले रिब्दीकोट गाउँपालिका अध्यक्ष चिरञ्जीवी पोखरेल र कांग्रेसका गाउँ सभापति रामचन्द्र पाण्डेयले दुवै नेताले गरेको योगदानको चर्चा गरे । एमाले, कांग्रेस, माओवादीका स्थानीय नेताले दुवैको फोटोमा माल्यार्पण गरेका थिए ।
प्रजातन्त्र ल्याउन दुवै नेताको उत्तिकै योगदान रहेको छ । दुवै नेताहरूले प्रतिपादन गरेको नीति र सिद्धान्तमा आधारित रहेर प्रजातान्त्रिक पक्ष र वाम पक्षले पञ्चायत हटाउन सफल भएको उनले बताइन् ।
प्रतिक्रिया