८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एमाले कार्यदल बैठक आज पनि, दोश्रो तहका नेताको दोधारे चरित्रले हलो अड्कियो !




काठमाडौं । आन्तरिक विवाद मिलाउने प्रयासमा नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ ।आजको बैठकले सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले बताए ।

नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरु विगत केही दिनयता सक्रिय भए पनि वार्तामा कुनै प्रगति भएको देखिएको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।

विहीबारको बैठकपछि कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने बैठकमा खास प्रगति नभएको बताए । ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौं अहिले त्यही अवस्थामा छौं । खास प्रगति गरेका छैनौं,’ बिहीबार दोस्रो पटकको बैठकपछि भुसालले पत्रकारहरुसँग भनेका थिए ।

दोश्रो तहका नेताको दोधारे प्रवृत्तिले एमाले एकता हुने या बिभाजन हुने भन्ने छिनोफानो हुन नसकेको बाहिर टिप्पणी छ । मुख्यगरी माधव नेपाल समुहका कार्यदल तथा बार्ताटोलीका सदस्यहरुले दोधारे चरित्रले नेपाललाई निर्णय लिन असहज भएको बताइन्छ । उता केपी ओलीतर्फका दोश्रो तहका नेतालाई पनि ओली कार्यशैली खासमा मन नपरेको र बार्तामा जोड दिएको बताइन्छ । उनीहरु पनि दोधारे चरित्रका रहेकाले पार्टी एकतामा समस्या छ । नेपाल पक्षका बार्ताटोलीका सदस्यमध्ये भीम रावल भने नेपालको अडानमा अडिग छन् ।

प्रकाशित मिति : २५ असार २०७८ शुक्रबार ००:००  ८ : २६ बजे