८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘काँग्रेस बाणगंगामा निर्विरोध एक मात्र सभापति मै हुँ’



मायादेवी अनलाइन, चारनम्बर ।

नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नगर, जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्म नेतृत्वमा हानथाप सुरु भएको छ । महाधिवेशनलाई लिएर अहिले नेताहरुले मावल बनाउने र शीर्ष नेतासंगको भेटघाटलाई तीव्रता दिन थालेका छन् ।

यसैबीच कपिलवस्तुमा पनि नगर, क्षेत्र र जिल्ला तहमा नेतृत्वको विषयलाई लिएर नेताहरुले आआफ्नो दावी सुरु गरेका छन् ।
१० वटा स्थानीय तह रहेको कपिलवस्तुको बाणगंगामा नगरसभापतिको लागि बिभिन्न ब्यक्तिको नाम चर्चाामा आइरहेका बेला वडा नम्बर १ वैरियाका स्थायी बासिन्दा होटल ब्यवसायी वीरेन्द्र श्रेष्ठले नगर सभापतिमा आफू एक्लो र निर्विरोध उम्मेदवार भएको दावी प्रस्तु गर्नु भएको छ ।

मायादेवी अनलाइनसंगको कुराकानीमा उहाँले नगरमा आफूलाई टक्कर दिने अरु कुनै पनि नेता नरहेको भन्दै आफूले सभापतिमा बाजी मारेरै छाड्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘नगर नेतृत्वको लागि अरु साथीहरु पनि आकांक्षी हुनुहुन्छ तर म चुनाव भए पनि भारी मतान्तरले जित्ने र नभए पनि निर्विरोध हुने एक मात्र क्यानडिडेट मै हुँ । त्यस पछाडी थुप्रै आधार छन् ।’

‘म अहिले कुनै गुटमा छैन । मात्र काँग्रेशमा छु । जुन गुट भए पनि मलाई अत्यधिक साथीहरुले रुचाउनु हुन्छ । महाधिवेशन मिति नजिकिँदै गर्दा साथीहरुको फोन म्यासेज त्यही प्रकारका आइरहेका छन् । फेरी पालो पनि मेरै हो ।’उहाँले थप्नुभयो ।

आफू वि सं २०४२ सालदेखि काँग्रेशको राजनीतिमा लागेको, वि सं २०४९ सालमा नेविसंघको जिल्ला उपाध्यक्ष भएको, ५८ देखि ५९ को समयमा तरुण दलको जिल्ला उपाध्यक्ष, १३ औँ महाधिवेशनको क्षेत्रीय प्रतिनिधि, क्षेत्र नम्बर एक तथा संसदीय चुनावमा युवा मोर्चाको नेतृत्व सम्हालेको इत्यादिका कारण बाणगंगा नगर सभापतिमा आफूले दावी गर्ने उहाँले बताउनु भयमे । उहाँले आफू त्यसैअनुसार लागिसकेको हुनाले नगर अधिवेशनमा सघाउन नेता र कार्यकर्ता र शुभेच्छुकहरुलाई पनि आग्रह गर्नुभएको छ ।

श्रेष्ठ जिल्लामै काँग्रेसका एक जना सरल र निष्ठावान् नेता रुपमा आफ्नो परिचय छोड्न सफल हुनुभएको छ । उहाँ मायादेवी रिसोर्टका संचालक तथा अन्य बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ । नगर सभापतिमा अहिले अरु २ नेताको पनि नाम चर्चामा आउन थालेको छ । पाका नेता कृष्ण गुरुङ र अहिलेका नगर सभापति विष्णु थापा पनि नगर सभापतिमा लड्ने जनाएको छ ।

गुरुङ २०२८ सालबाट काँग्रेशको राजनीतिमा होमिएका नेता हुनुहुन्छ भने थापा भाषण कलामार्फत् युवा माझ परिचित हुनुहुन्छ । कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  ७ : १५ बजे