काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक बनेपनि कुनै ठोस सहमति नभएको नेताहरुले बताएका छन् ।
दुई नेताबीच राजधानीको एक होटलमा बुधबार राति करिब दुई घण्टा छलफल भएपनि कुनै ठोस सहमति बिनै बैठक सकिएको हो ।
बैठकपछि एमाले विवाद मिलाउन गठित कार्यदलका नेपाल पक्षीय संयोजक भीम रावलले एकतालाई कसरी अघि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको बताए । ‘पार्टी एकतालाई कसरी अघि बढाउने र कसरी सकारात्मक परिणाममा लैजाने भनेर छलफल गरेका छौँ’, बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘यस सम्बन्धमा पुनः कुराकानी हुनेछ । ’
उनले पार्टी एकतालाई टुंगोमा पुर्याउन गम्भीर रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गरिएको भन्दै यसबारे कार्यदलमा पनि छलफल जारी रहेको बताए ।
यस्तै नेता सुरेन्द्र पाण्डेले शीर्ष तहमा छलफल भएको भन्दै भोलि कार्यदल र शीर्ष तहमा पनि छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने प्रतिक्रिया दिए ।
बैठक पछि ओली र नेपाल भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिइकन बाहिरिएका थिए ।
स्रोतका अनुसार आजको बैठकमा लामो समयपछिको प्रत्यक्ष भेटघाट भएको र सम्बन्धमा निकै चिसोपना रहेकाले मन माझामाझमा केन्द्रीत भएको थियो ।
स्रोतका अनुसार बैठकमा माधव नेपालले पावर सेयरिङ, ओलीको कार्यशैली लगायतका विषयमा प्रश्न उठाएपनि ओली आफ्नो पूर्ववत अडानमै देखिएका थिए ।
दुबै पक्षका नेताहरु रहेको कार्यदलमा लगायतार तीन पटक छलफल भएर सहमतिउन्मुख भएपछि दुई नेताबीच ओली र नेपालबीच भेटवार्ता भएको थियो । ओली र नेपालबीचको भेटवार्ताको पहल कार्यदलमै रहेका नेताहरुले गरेका थिए । बुधबारको छलफलसँगै ५५ दिनपछि दुई नेताबीच औपचारिक संवादको सुरुवात पनि भएको छ ।
प्रतिक्रिया