काठमाडौं ।
इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो ।खेलको १०४ मिनेटमा ह्यारी केनले पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलले अघि बढाएका थिए ।
डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए । त्यसअघि खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो । उसका लागि मिक्केल डमसगार्ड फ्रिकिकमा उत्कृष्ट गोल गर्दा इंग्ल्यान्डको घरेलु मैदानमा रहेका दर्शक स्तब्ध बनेका थिए ।
३९ मिनेटमा इंग्ल्यान्डले आत्मघाती गोलको मद्दतमा बराबरी गरेको थियो । बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले आफ्नै पोस्टमा बल छिराउन पुगेका थिए ।
खेलमा डेनमार्कका गोलकिपरले ह्यारी माग्युर, ह्यारी केन र ज्याक पिटर ग्रेलीशको प्रहारलाई विफल परेका थिए। यस्तै रहिम स्टर्लिङको प्रहार पनि गोलकिपर कास्पर बाधक बनेका थिए ।
अब उपाधिका लागि इंग्ल्यान्डले आइतबार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डले युरो कपमा पहिलो पटक फाइनलमा पुगेको हो । यस्तै इंग्ल्यान्डले ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो ।
प्रतिक्रिया