८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अत्तोपत्तो छैन ‘कोभिसिल्ड’ लगाएका ज्येष्ठ नागरिकको दोस्रो खोप



काठमाडौं ।
६५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको ४ महिना बितिसक्दा पनि दोस्रो डोज खोप लगाउन पाएका छैनन् । रकम भुक्तानी भइसकेको १० लाख डोज कोभिसिल्ड खोपको अझै अत्तोपत्तो छैन । सरकारले खोप ल्याउने पहल भइरहेको रटान लगाउनु बाहेक प्रभावकारी पहल गर्न नसक्दा यतिखेर ज्येष्ठ नागरिक अन्योलमा परेका छन् ।

सुरुमा कोरोना महामारी करिब २ वर्षमा नियन्त्रणमा आउने विज्ञहरूको अनुमान थियो । तर, सोचेजस्तो भएन । बरु स्वरुप बदल्दै झन संक्रामक एवं जटिल बन्दै गयो । यसको नियन्त्रणका लागि खोप नै एकमात्र प्रभावकारी उपाय ठहरिएसँगै यतिखेर विश्वभर खोप अभियानलाई तीव्रता दिइएको छ ।

युरोप, अमेरिका त के कुरा चीन र भारत जस्ता उच्च जनसंख्या भएका मुलुकले पनि आफ्ना बहुल जनसंख्यालाई खोप वितरण गरिसकेका छन् । तर, हाम्रो जस्तो थोरै जनसंख्या भएको मुलुकले भने खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सकेका छैनन् । सुरुको चरणमा सोचेभन्दा चाँडो खोप पाएर हौसिएका नेपालका ज्येष्ठ नागरिक दोस्रो डोज नपाएर जिल्लिएका छन् ।

पछिल्ला दिन चीनबाट प्राप्त भेरासेल खोप विभिन्न उमेर समूहमा लगाउन सुरु हुँदा पनि सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने उमेर समूहका ज्येष्ठ नागरिकले खोप नपाउनु पक्कै पनि दुःखलाग्दो अवस्था हो । ४ देखि १२ हप्ता भित्र दोस्रो डोज लगाइसक्नु पर्नेमा १६ हप्ता पार भइसक्दा पनि खोपको कुनै टुङ्गो लागेको छैन ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज कुरिरहेका छन् । फेरि पनि मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेल भने खोप ल्याउन पहल भइरहेको बताउनुहुन्छ ।

सबैलाई खोप दिन नसकिने भएकाले प्रदेश र जिल्लामा बाँकी रहेका केही मात्रा खोप त्यसै खेर जाने अवस्था रहेको समेत प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयका पदाधिकारीले बताएका छन् । दोस्रो डोज खोप लगाउन ढिलाइ हुँदा त्यसको प्रभावकारिताको विषयमा पनि प्रश्न उठिरहेको छ । ९ देखि १० महिनामा लगाउँदा पनि प्रभावकारिता राम्रो देखिएको उदाहरण रहेको प्रवक्ता पौडेलको दाबी छ । यद्यपि आफूहरू खोप ल्याउन ढिलो गर्ने पक्षमा नभएको उहाँको भनाइ छ । आशावादी हुन उहाँले आग्रह गर्नुभयो ।

हाल चीन सरकारसँग ४० लाख डोज खोप खरिद गरेको सरकारले कोभ्याक्स सुविधावाट पनि केही खोप पाउने भएको छ । कोभिड–१९ नियन्त्रणको प्रमुख उपाय भनेको नै खोप हो । यसै पनि पहिलो लहर भन्दा दोस्रो लहरमा नेपालले धेरै क्षति बेहोरेको छ । तेस्रो लहरको जोखिमको चेतावनी आइरहेको बेला क्षति रोक्न पनि यथासक्य चाँडो खोप भित्र्याउने पहल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ७ : ०३ बजे