काठमाडौं ।
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
बैठकमा दुवै पक्षका विषय खुलेर राख्ने काम भएको र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो । बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ ।
यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो ।
माधव नेपाल पक्षले निःसर्त रूपमा पार्टीलाई २०७५ सालको जेठ २ गते अघिकै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै ओलीले आत्मालोचना गर्नुपर्ने पनि नेपाल पक्षको माग छ ।
तर प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय मान्दै पार्टीमा फर्कन निर्देशन दिँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।
विवाद मिलाउन गठन भएको दश सदस्यीय कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहको तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।
प्रतिक्रिया